काठमाडौं । काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा यात्रा गरिरहेकी महिलामाथि ती युवकहरूले हातपात तथा अभद्र व्यवहार गरेका थिए । घटनापछि पीडितको सूचना तथा उजुरीका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई कात्तिक १९ गते नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९, मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका वडा नं. ३, तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन् ।



