AI Training को Massive Demand! २ हजारको कोटा, ६८ हजार आवेदनपछि सबैलाई तालिम दिने निर्णय

विज्ञान तथा सूचना प्रविधि

२ हजार युवालाई लक्षित निःशुल्क AI तालिममा ६८ हजारभन्दा बढी आवेदन, सबैलाई सहभागी गराइने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा सञ्चालन हुन लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (AI) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन्। सुरुमा २ हजार युवालाई मात्र सहभागी गराउने लक्ष्य राखिएकोमा माग अत्यधिक भएपछि आवेदन दिएका सबैलाई तालिममा सहभागी गराउने निर्णय गरिएको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘Mastering AI with Effective Prompt Engineering’ शीर्षकमा सञ्चालन गर्न लागेको उक्त तालिममा पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका हुन्।

सुरुवाती योजनाअनुसार कात्तिक १८ र १९ गते चारवटा छुट्टाछुट्टै सत्र सञ्चालन गरी प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २ हजार युवालाई तालिम दिने तयारी गरिएको थियो। तर, देशभरका युवाबाट प्राप्त उत्साहजनक प्रतिक्रियालाई ध्यानमा राख्दै तालिमको दायरा विस्तार गरी सबै आवेदकलाई समेट्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

तालिममा सहभागी हुन आवेदन दिएका व्यक्तिलाई सम्बन्धित सत्र सुरु हुनुभन्दा दुई घण्टाअघि SMS मार्फत अनलाइन कक्षाको लिंक पठाइनेछ। आवेदन फाराममा उल्लेख गरिएको नाम र मोबाइल नम्बरका आधारमा आफूले छनोट गरेको सत्रमा सहभागी हुन सकिने व्यवस्था गरिएको छ। तालिममा मोबाइल फोन वा ल्यापटपमार्फत सहभागिता जनाउन सकिनेछ।

आधारभूत तहको उक्त तालिममा ChatGPT, Claude लगायतका AI उपकरणको प्रभावकारी प्रयोग, उपयोगी Prompt लेखन, इमेल तथा कार्यालयसम्बन्धी कागजात तयार गर्ने, Presentation निर्माण, तस्बिर तथा छोटा भिडियो सिर्जना र AI बाट प्राप्त सूचनाको सत्यता जाँच गर्ने विषय समेटिनेछन्।

तालिमको मुख्य उद्देश्य युवालाई कृत्रिम बुद्धिमत्ता प्रविधिसँग परिचित गराउनुका साथै दैनिक जीवन, अध्ययन, रोजगारी र व्यावसायिक कार्यमा AI उपकरणको व्यावहारिक प्रयोग गर्न सक्षम बनाउनु रहेको मन्त्रालयले जनाएको छ।

प्रविधिको तीव्र विकाससँगै श्रम बजारमा आवश्यक पर्ने सीपसमेत परिवर्तन भइरहेकाले युवामा AI साक्षरता विस्तारलाई प्राथमिकता दिइएको मन्त्रालयको भनाइ छ। AI सम्बन्धी आधारभूत ज्ञान र सीपलाई सीमित व्यक्तिमा मात्र केन्द्रित नराखी देशभरका युवाको पहुँचमा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

प्रत्यक्ष (Live) अनलाइन माध्यमबाट सञ्चालन हुने तालिममा सहभागीलाई तोकिएको समयमा उपस्थित भई सक्रिय रूपमा सिकाइ प्रक्रियामा जोडिन प्रतिष्ठानले आग्रह गरेको छ। तालिममा सहभागी हुने प्रक्रिया तथा अन्य आवश्यक जानकारी प्रतिष्ठानका आधिकारिक माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ING Group Pvt. Ltd. र ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा उक्त निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो। प्रतिष्ठानले आगामी दिनमा पनि AI लगायत रोजगारमूलक तथा प्रविधिसम्बन्धी तालिम विस्तार गर्दै थप युवासम्म पहुँच पुर्‍याउने प्रतिबद्धता जनाएको छ।