महँगी, रोजगारीको अनिश्चितता र सेयर बजारको गिरावटले किनमेलमा सावधानी; चाडपर्वको खर्च ६ प्रतिशत घट्ने अनुमान
काठमाडौं । भारतमा चाडपर्वको समयमा किनमेल बढ्ने परम्परा रहे पनि यस वर्ष उपभोक्ताले खर्च घटाउन थालेका छन् । महँगो सुन, बढ्दो महँगी, रोजगारीको अनिश्चितता र सेयर बजारको गिरावटले उपभोक्ता खर्चमा दबाब पारेको छ ।
यस वर्ष सुनको खुद्रा मूल्य गत वर्षको तुलनामा करिब २० प्रतिशत बढेको छ । यसको असर खरिदमा देखिएको छ । भारतको सुन आयात सेप्टेम्बरमा घटेर १ अर्ब ८० करोड डलरमा सीमित भएको छ, जबकि गत वर्षको सोही महिनामा ९ अर्ब ६० करोड डलर थियो । अप्रिलदेखि सेप्टेम्बरसम्मको आयात पनि २७.३ प्रतिशतले घटेको छ ।
सवारीसाधनको बिक्रीसमेत घटेको छ । १० दिने नवरात्रि अवधिमा कार बिक्री २२ प्रतिशतले घटेर १ लाख ८२ हजार ७२८ युनिटमा झरेको छ । दुईपाङ्ग्रे सवारीसाधनको बिक्री २.८ प्रतिशतले घटेको छ । पोलस्टर लोकलसर्कल्सले यस वर्ष भारतको चाडपर्व लक्षित खर्च ६ प्रतिशत घटेर १.९६ ट्रिलियन भारतीय रुपैयाँमा सीमित हुने अनुमान गरेको छ ।
भारतमा सेप्टेम्बरको खुद्रा मुद्रास्फीति ५.५४ प्रतिशत पुगेको छ, जुन अगस्टमा ४.८२ प्रतिशत थियो । रोजगारी बजारमा अनिश्चितता र प्रविधि क्षेत्रमा एआईका कारण नयाँ भर्ना सुस्त हुनुले पनि उपभोक्तालाई खर्चमा सतर्क बनाएको छ । यसैबीच, सेन्सेक्स यस वर्ष करिब १० प्रतिशत घटेको छ ।
भारतको कुल गार्हस्थ्य उत्पादनमा निजी उपभोगको हिस्सा करिब ६० प्रतिशत छ । त्यसैले चाडपर्वकै समयमा खर्च घट्नुले खुद्रा व्यापार, गहना व्यवसाय र सवारीसाधन उद्योगमा असर पार्न सक्ने देखिएको छ ।



