गजेन्द्र बुढाथोकीका ५ प्रमुख निष्कर्ष
१. लगानी प्रवद्धर्नको सिलसिलामा मुख्यतया सरकारको बुझाइ नै कमजोर रहेको देखियो । अहिलेको जस्तो हचुवा निर्णय प्रक्रियाले कुनै पनि लगानीकर्ताहरू आकर्षित हुन सक्दैनन् । लगानीकर्ताहरू आफ्नो लगानीको सुरक्षालाई मुख्य विषयवस्तु मान्दछन् । जेन्जी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालमा लगानी सुरक्षा नभएको महसुस गरेका छन् । जसलाई विश्वासमा लिनको लागि सरकारका प्रयासहरु कमजोर देखिए ।
२. नेपाली निजी लगानीकर्ताहरू निकै लामो समयदेखि पर्ख र हेरको अवस्थामा थिए । खासगरि कोभिड महामारीपछि लगानी परिचालनका विषयमा अन्तर्राष्ट्रिय परिवेशहरूले पनि विशिष्ट भूमिका खेल्दै आए । यस्तो अवस्थामा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै लगानीकर्ताहरू आफ्नो लगानी होल्ड गरेर स्थिति राम्रो हुन्छ र निर्णय लिउँला। भन्ने पक्षमा रहेका थिए । यो स्थिति सुध्रिनुको सट्टा झन्झन बिग्रँदै गयो ।
३. अन्तर्राष्ट्रिय लगानीको वातावरण विशेषत: युक्रेन युद्धपछि खलवालिँदै गएको अन्तर्राष्ट्रिय परिवेशमा मध्यपूर्वको युद्धले झन् आगोमा पेट्रोलको काम गर्यो अर्थात् लगानीकर्ताहरूले नयाँ लगानी विस्तार गर्दा त्यसको जोखिम पक्षलाई ख्याल गर्न थाले ।
४. नेपालको हकमा लगानीकर्ताहरूले आफूले गरेको लगानी सुरक्षा सँगसँगै त्यसको सहज बहिर्गमन लामो समयदेखि प्रमुख विषयको रुपमा उठाउँदै आएका छन् । रिप्याट्रिसन सम्बन्धी उपयुक्त व्यवस्थाहरू नहुँदा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू नेपालमा लगानीको लागि उत्साहित छैनन् ।
५. अझ गम्भीर र महत्त्वपूर्ण मुद्दा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार बने पछाडि लगानीकर्ताहरुलाई आकर्षित गर्नको सट्टा उल्टै लगानीकर्ताहरु तर्साउने वातावरण बन्दै गयो । पहिले थुन्ने अनि सुन्ने सरकारको नीतिले निजी क्षेत्रमा आफूलाई कतिखेर सरकारले समात्ने हो भन्ने त्रास बढेर गएको छ । जब त्रासको वातावरण रहन्छ त्यस्तो अवस्थामा लगानी बढ्न सक्दैन ।
गजेन्द्र बुढाथोकी,आर्थिक विश्लेषक
(इन्स्टाखबर सर्वे)



