काठमाडौं । कम्पनी ऐन, २०६३ अनुसार विवरण नबुझाएका, नवीकरण नगरेका वा कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना दाखिला नगरेका कम्पनीलाई मिनाहाको सुविधा लिन सरकारले थप समय दिएको छ। अब यस्तो सुविधा लिन २०८३ पुस मसान्तसम्म विवरण तथा आर्थिक वर्ष २०८२/८३ का लागि लाग्ने कर, शुल्क र दस्तुर बुझाउन सकिनेछ।
यसअघि यस्तो सुविधा लिन असोज मसान्तसम्मको म्याद तोकिएको थियो। कात्तिक ९ गतेको निर्णयअनुसार म्याद थप गरी पुस मसान्तसम्म कायम गरिएको हो।
कम्पनी ऐनअनुसार दर्ता भएका कम्पनीले कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न चाहेमा तोकिएको अवधिभित्र आवश्यक विवरण र आर्थिक वर्ष २०८२/८३ का लागि लाग्ने कर, शुल्क तथा दस्तुर बुझाउनुपर्नेछ।
तोकिएको म्यादभित्र प्रक्रिया पूरा गर्ने कम्पनीले सोभन्दा अघिको अवधिमा लागेको वा लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा पाउने व्यवस्था गरिएको छ।
यस व्यवस्थाले लामो समयदेखि विवरण नबुझाएका, नवीकरण नगरेका वा बक्यौता दाखिला नगरेका कम्पनीलाई कानुनी प्रक्रिया पूरा गरी कारोबार सञ्चालन गर्न वा दर्ता खारेज गर्न सहज हुने अपेक्षा गरिएको छ।




