बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ

Headlines अर्थ बैंक/वित्त

काठमाडौं । बाइनान्समार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिल कुमार यादव छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार यादवले बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० युएसडीटी (यूएसडीटी) बराबरको कारोबार गरेका थिए। प्रतियुएसडीटी १५१ रुपैयाँ ५३ पैसाका दरले उक्त कारोबारको मूल्य २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ हुने प्रहरीको भनाइ छ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने र खेलाउने तथा अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको सूचनाका आधारमा निगरानी र प्राविधिक विश्लेषण गरी अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ।

यादवमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्ने तथा दफा २६२(क)(१) अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।