२०८३ कार्तिक १३

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्डबीच छलफल

Headlines अर्थ समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उठाउनुपर्ने व्यवसायिक एवम लगानीका मुद्दाहरुका सन्दर्भमा नेपाल–भारतका व्यवसायहीहरुबीच छलफल भएको छ ।

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य अभिवृद्धि गर्ने अवसरहरूबारे छलफल गर्न नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले विहीबार लगानी बोर्ड नेपालको कार्यालयमा लगानी बोर्ड नेपाल (आईबीएन) सँग बैठकको आयोजना गर्दै उक्त मुद्दामा छलफल गरेको हो ।

बैठकमा नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणको सन्दर्भमा प्रस्तावित नेपाल–भारत प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोलमेच बैठक आयोजना गर्ने विषयलगायतका मुद्दामा छलफल गरिएको थियो ।

बैठकमा एनआईसीसीआईका अध्यक्ष कुनाल कायल, निवर्तमान अध्यक्ष सुनील केसी, उपाध्यक्ष गौरव टायल, स्थायी आमन्त्रित सदस्य साइबल घोष, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, एनआईसीसीआईका निर्देशक मार्सल राठौर तथा कार्यक्रम सहयोगी श्रेयसी राणा सहभागी थिए ।

त्यसैगरी, लगानी बोर्ड नेपालका तर्फबाट सहसचिव भूपेन्द्र थापा तथा वरिष्ठ डिभिजनल इन्जिनियर दीपक मुढभरीलगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलमा सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउने, नेपालमा सफलतापूर्वक सञ्चालन भइरहेका भारतीय लगानीका उदाहरणहरूलाई उजागर गर्ने तथा व्यवसायदेखि व्यवसाय (बीटुबी) तहसम्म थप लक्षित अन्तरक्रियामार्फत नयाँ लगानी आकर्षित गर्ने अवसरहरूको पहिचान गर्ने विषयमा विशेष जोड दिइएको थियो ।

एनआईसीसीआईका अध्यक्ष कुनाल कायलले भारतीय व्यावसायिक संस्थाहरूसँग संघको व्यापक सञ्जाल र भारतमा रहेको स्थापित उपस्थितिबारे प्रकाश पारे । उनले नेपालको लगानी सम्भावनालाई अझ प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्न तथा नेपालमा कार्यरत स्थापित भारतीय उद्यमहरूले पुर्‍याउँदै आएका योगदानलाई उजागर गर्नुपर्ने महत्त्वमा जोड दिए ।

एनआईसीसीआईका उपाध्यक्ष गौरव टायलले विशिष्टीकृत स्वास्थ्य सेवा, उच्च शिक्षा, यातायात सम्पर्क सञ्जाल, ढुवानी तथा आपूर्ति व्यवस्थापन (लजिस्टिक्स) र पूर्वाधारलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाहरू औँल्याए ।

उनले नेपालको विकास प्राथमिकतासँग मेल खाने र निजी क्षेत्रको सहभागिताका लागि व्यावहारिक अवसर प्रदान गर्ने स्पष्ट रूपमा पहिचान गरिएका लगानीका सम्भावनाहरूसँग सम्भावित लगानीकर्तालाई जोड्नु महत्त्वपूर्ण रहेको बताए ।

लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले एनआईसीसीआईको सक्रिय सहभागिताको स्वागत गर्दै लगानी सहजीकरणलाई सुदृढ बनाउने, सम्बन्धित सरोकारवालाबीच समन्वय सुधार गर्ने तथा लगानी प्रवद्र्धनका लागि थप व्यवस्थित दृष्टिकोण विकास गर्ने महत्त्वबारे चर्चा गरिन् ।

उनले लगानीका अवसरहरूलाई अगाडि बढाउन रचनात्मक निजी क्षेत्रको सहभागिता तथा पूर्वतयारी गरिएका ठोस प्रस्तावहरूको महत्त्वमा जोड दिइन् ।

प्रस्तावित सीईओ गोलमेच बैठक छलफलको प्रमुख विषयका रूपमा रहेको थियो। अर्थपूर्ण अन्तरक्रिया तथा ठोस अनुवर्ती कार्य सुनिश्चित गर्न स्पष्ट उद्देश्यसहितको कार्यसूची, प्राथमिकतामा राखिएका क्षेत्रहरू र सावधानीपूर्वक छनोट गरिएका कम्पनीहरूको सहभागिता आवश्यक रहेको विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखे ।

बैठकमा ज्ञान तथा अनुभव आदानप्रदान र नेपालको लगानी सहजीकरणसम्बन्धी संस्थाहरू तथा भारतीय व्यावसायिक सञ्जालबीच थप सुदृढ सम्बन्ध स्थापना गर्नेलगायतका विषय समेटेर संस्थागत सहकार्यलाई अझ नजिक बनाउने सम्भावनाबारे पनि छलफल गरियो।

छलफलले व्यावहारिक सहकार्य, सुदृढ संस्थागत सम्बन्ध तथा सरकार र निजी क्षेत्रबीचको निरन्तर संवादमार्फत नेपाल–भारतबीच लामो समयदेखि कायम आर्थिक साझेदारीलाई थप लगानी सहकार्यमा रूपान्तरण गर्ने दुवै पक्षको साझा चासो प्रतिबिम्बित गरेको छ।

एनआईसीसीआईले छलफललाई थप अघि बढाउन तथा द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन सम्भावित उपायहरूको खोजी गर्दै सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्यलाई निरन्तरता दिइनेपनि जानकारी गराइयो ।