काठमाडौँ — साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन सामान्य बढेको बजार शुक्रबार भने दोहोरो अंकले घटेको हो।
बिहीबार नेप्से ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा बन्द भएको थियो।
शुक्रबार सेन्सेटिभ इन्डेक्स १.७४ अंक, फ्लोट इन्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७१ अंकले घटेका छन्।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ३५६ स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन्।
शुक्रबार एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ। माण्डु हाइड्रोपावरको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशत बढेको छ।
यस दिन कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ८.५५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ। उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको करिब १५ करोड ५० लाख रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन्। म्युचुअल फन्ड र व्यापार उपसमूह सामान्य बढेका छन्।
उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.७३ प्रतिशत घटेको छ। बाँकी घट्ने उपसमूहतर्फ पनि सामान्य दबाब देखिएको छ।



