A Hero Pilot: छुरा प्रहारबाट घाइते भएका फ्लाईदुबईका पाइलटले जोगाए १७४ यात्रुको ज्यान

Headlines अन्तराष्ट्रिय

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्लाईदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको ‘असाधारण साहस’को प्रशंसा गरेका छन् । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको एफजेड–१०७३ उडानमा ककपिटभित्र दुई पाइलटबीच विवाद हुँदा एक पाइलटले अर्कालाई छुरा प्रहार गरेको र विमान दुर्घटनातर्फ लैजान खोजेको आरोप लगाइएको छ ।

सो क्रममा घाइते भएका क्याप्टेन मच्छरले प्रतिकार गर्दै विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । नेतान्याहुले सामाजिक सञ्जाल एक्समार्फत मच्छरको साहसको प्रशंसा गर्दै जीवन जोखिममा रहे पनि उनले प्रतिकार गरेर ककपिटको ढोका खोल्न सफल भएको र त्यसपछि यात्रु तथा चालक दलका सदस्यले कथित आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको बताएका छन् ।

‘उनले १७४ जनाको ज्यान जोगाए, जसमा इजरायली नागरिक पनि थिए,’ नेतान्याहुले भनेका छन् । उनले घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनलाई ‘सच्चा नायक’को संज्ञा दिएका छन् ।

दुबईबाट तेल अभिभतर्फ आउँदै गरेको विमानले उडानका क्रममा ‘अनलफुल इन्टरफेरेन्स’ अर्थात् गैरकानुनी हस्तक्षेपको संकेत प्रसारण गरेपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो ।

उडानले सुरुमा अन्तर्राष्ट्रिय आपत्कालीन संकेत ७७०० र त्यसपछि विमान अपहरण वा गैरकानुनी हस्तक्षेप जनाउने ७५०० कोड प्रसारण गरेको फ्लाइट ट्र्याकिङ विवरणलाई उद्धृत गर्दै इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

७५०० संकेत प्राप्त भएपछि इजरायली वायुसेनाका लडाकु विमानसमेत उक्त विमानतर्फ पठाइएको थियो । यद्यपि, पछि इजरायली अधिकारीहरूले विमान अपहरण भएको पुष्टि नगरेको जनाइएको छ ।

विमान अन्ततः सुरक्षित रूपमा तबुक विमानस्थलमा अवतरण गरिएको थियो । त्यसपछि यात्रुलाई उद्धार गर्न पठाइएको फ्लाईदुबईको अर्को विमान करिब १८० यात्रुसहित इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

रियादस्थित भारतीय दूतावासले क्याप्टेन मच्छरको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनी तबुक शहरस्थित अस्पतालमा उपचाररत रहेको जनाएको छ । दूतावासका अनुसार मच्छरको अवस्था स्थिर रहेको र आवश्यक उपचार भइरहेको छ । भारतीय दूतावास र जेद्दास्थित वाणिज्य दूतावासले उनको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको तथा परिवारसँग सम्पर्कमा रहेको जनाएको छ ।

क्याप्टेन मच्छर फ्लाईदुबईमा प्रत्यक्ष प्रवेशबाट क्याप्टेनका रूपमा कार्यरत अनुभवी पाइलट हुन् । उनले व्यावसायिक उड्डयन क्षेत्रमा १३ वर्षभन्दा बढी अनुभव हासिल गरेका छन् । उनको कुल उडान अनुभव करिब ९ हजार ७५० घण्टा रहेको र अधिकांश समय बोइङ–७३७ विमान उडाएको बताइएको छ । फ्लाईदुबईमा आबद्ध हुनुअघि उनले भारतीय एक एयरलाइन्समा करिब ११ वर्ष काम गरेका थिए । त्यहाँ उनी लाइन ट्रेनिङ क्याप्टेनका रूपमा समेत कार्यरत थिए ।

घटनापछि नेतान्याहुले इजरायली तथा गैरइजरायली विमानको सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । नेतान्याहुका अनुसार प्रारम्भिक प्रमाणले फ्लाईदुबईका एक पाइलटले अर्का पाइलटलाई छुरा प्रहार गरेको र विमान दुर्घटना गराउने प्रयास गरेको देखाएको छ । घटनामा संलग्न भनिएका पाइलटसँग साउदी अधिकारीहरूले सोधपुछ गरिरहेका छन् । एएनआई