राष्ट्र बैंकको सम्पत्ति १ खर्ब ६९ अर्बले बढ्यो, विदेशी मुद्राको सम्पत्ति ३९ खर्ब नजिक
काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १ खर्ब ६९ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ।
राष्ट्र बैंकको भदौ मसान्तको प्रारम्भिक वित्तीय विवरणअनुसार कुल सम्पत्ति तथा दायित्व ४० खर्ब ४४ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो रकम ३८ खर्ब ७४ अर्ब ९८ करोड ८५ लाख रुपैयाँ थियो।राष्ट्र बैंकको वित्तीय विवरणअनुसार दुई महिनामा कुल सम्पत्ति १ खर्ब ६९ अर्ब ९० करोड ९९ लाख रुपैयाँले बढेको हो।
राष्ट्र बैंकको सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा विदेशी मुद्रामा रहेको सम्पत्तिको छ। भदौ मसान्तसम्म विदेशी मुद्रामा रहेको सम्पत्ति ३८ खर्ब ९९ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सम्पत्ति ३७ खर्ब ३० अर्ब २६ करोड ५४ लाख रुपैयाँ थियो। यस अवधिमा विदेशी मुद्राको सम्पत्ति करिब १ खर्ब ७० अर्ब रुपैयाँले बढेको देखिन्छ।
विदेशी मुद्राको सम्पत्तिअन्तर्गत विदेशी धितोपत्रमा गरिएको लगानी २७ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। त्यस्तै विदेशी बैंकमा राखिएको मुद्दती निक्षेप ६ खर्ब ३९ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
यता राष्ट्र बैंकको स्थानीय मुद्रामा रहेको सम्पत्ति भने सामान्य घटेको छ। भदौ मसान्तमा स्थानीय मुद्रामा रहेको सम्पत्ति १ खर्ब ४४ अर्ब २९ करोड ४७ लाख रुपैयाँ रहेको छ। असार मसान्तमा यस्तो सम्पत्ति १ खर्ब ४४ अर्ब ९६ करोड २४ लाख रुपैयाँ थियो।
स्थानीय मुद्राको सम्पत्तिअन्तर्गत सरकारी धितोपत्रमा राष्ट्र बैंकको लगानी बढेर ११ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ। सुन तथा चाँदीको मौज्दात भने ९१ अर्ब ६७ करोड ६० लाख रुपैयाँमै स्थिर रहेको छ।
दायित्वतर्फ स्थानीय मुद्रामा रहेको कुल दायित्व २८ खर्ब ७६ अर्ब ५२ करोड ९९ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो दायित्व २७ खर्ब ३२ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ थियो।
चलनचल्तीमा रहेको नोट तथा सिक्काको दायित्व भने केही घटेको छ। भदौ मसान्तमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ९४ अर्ब २ करोड २८ लाख रुपैयाँ रहेको छ। असार मसान्तमा यस्तो रकम ८ खर्ब १ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ थियो।
सरकारको राष्ट्र बैंकमा रहेको निक्षेप भने उल्लेख्य बढेको छ। भदौ मसान्तमा सरकारी निक्षेप ३ खर्ब १ अर्ब २० करोड ५४ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो निक्षेप १ खर्ब ८६ अर्ब ८ करोड ५३ लाख रुपैयाँ थियो।
राष्ट्र बैंकको पुँजी ५ अर्ब रुपैयाँमा स्थिर रहेको छ। सञ्चित कोष तथा अन्य रिजर्भ भने बढेर १ खर्ब ११ अर्ब २ करोड १० लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो रिजर्भ १ खर्ब ८ अर्ब ५७ करोड ३२ लाख रुपैयाँ थियो।




