लघुवित्तको कर्जा बढ्दा निष्क्रिय कर्जा पनि उक्लियो, एनपीएल १०.४२ प्रतिशत पुग्यो
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूको कर्जा विस्तारसँगै खराब कर्जाको समस्या पनि बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा अनुपात १०.४२ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको असारमा यस्तो अनुपात ७ प्रतिशत थियो।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आ.व. २०८२/८३ को चौथो त्रयमासको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार खुद्रा लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा रकम ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। एक वर्षमा निष्क्रिय कर्जा अनुपात ३.४२ प्रतिशत बिन्दुले बढेको हो।
निष्क्रिय कर्जा बढेपछि लघुवित्त संस्थाहरूले कर्जा नोक्सानी व्यवस्थासमेत बढाएका छन्। समीक्षा अवधिमा खुद्रा लघुवित्त संस्थाहरूको कर्जा नोक्सानी व्यवस्था ३४.८८ प्रतिशतले बढेर ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।
खराब कर्जा बढे पनि खुद्रा लघुवित्त संस्थाहरूको कर्जा प्रवाह भने विस्तार भएको छ। २०८३ असारसम्म खुद्रा लघुवित्त संस्थाहरूको कुल कर्जा १०.०९ प्रतिशतले बढेर ४ खर्ब ८७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
लघुवित्तको कर्जाको ठूलो हिस्सा कृषि क्षेत्रमा प्रवाह भएको छ। कुल कर्जामध्ये कृषि क्षेत्रमा ५८.६३ प्रतिशत, सेवा व्यवसायमा २०.४५ प्रतिशत र थोक कर्जामा ८.६५ प्रतिशत प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
५१ लघुवित्त सञ्चालनमा
२०८३ असार मसान्तसम्म नेपालमा ५१ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन्। त्यसमध्ये ३ वटा थोक कर्जा प्रदायक र ४८ वटा खुद्रा कर्जा प्रदायक संस्था छन्।
लघुवित्तका शाखा संख्या भने केही घटेको छ। समीक्षा अवधिमा कुल शाखा संख्या ०.७५ प्रतिशतले घटेर ४ हजार ९२४ पुगेको छ। तर सदस्य संख्या भने ४.९६ प्रतिशतले बढेर ६५ लाख ३० हजार पुगेको छ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै लघुवित्त शाखा लुम्बिनी प्रदेशमा छन्। कुल शाखामध्ये २२.०३ प्रतिशत लुम्बिनीमा रहेका छन् भने सबैभन्दा कम ४.७९ प्रतिशत शाखा कर्णाली प्रदेशमा छन्।
खुद्रा लघुवित्तको नाफा बढ्यो
खराब कर्जा बढे पनि खुद्रा लघुवित्त संस्थाहरूको नाफामा भने उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा खुद्रा लघुवित्त संस्थाहरूको खुद मुनाफा ४८.१४ प्रतिशतले बढेर १० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। ४८ खुद्रा लघुवित्तमध्ये दुई संस्था भने घाटामा रहेका छन्।
थोक कर्जा प्रदायक लघुवित्तको नाफा भने घटेको छ। उनीहरूको खुद नाफा २३.२७ प्रतिशतले घटेर ९८ करोड रुपैयाँमा सीमित भएको छ।
खुद्रा लघुवित्त संस्थाहरूले आफ्नो वित्तीय स्रोत पनि बढाएका छन्। निक्षेप तथा बचततर्फ २ खर्ब २५ अर्ब २७ करोड र सापटीतर्फ २ खर्ब १२ अर्ब ५४ करोड रुपैयाँ गरी कुल ४ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १०.३५ प्रतिशत बढी हो।
थोक कर्जा प्रदायक संस्थाहरूले भने ३८ अर्ब ६६ करोड रुपैयाँ वित्तीय स्रोत परिचालन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशत कम हो।
आठ संस्थाको पुँजीकोष न्यून
राष्ट्र बैंकका अनुसार ८ वटा लघुवित्त संस्थाको पुँजीकोष तोकिएको न्यूनतम सीमाभन्दा कम रहेको छ। समीक्षा अवधिमा १० वटा संस्था शीघ्र सुधारात्मक कारबाहीमा रहेकामा आरम्भ चौतारी लघुवित्तलाई भने कारबाहीबाट फुकुवा गरिएको छ।
समग्र लघुवित्त क्षेत्रको प्राथमिक पुँजी जोखिम भारित सम्पत्तिको ११.४० प्रतिशत र कुल पुँजीकोष १२.५६ प्रतिशत रहेको छ। न्यूनतम सीमा क्रमशः ४ प्रतिशत र ८ प्रतिशत रहेकाले समग्र क्षेत्रको पुँजीकोष तोकिएको सीमाभन्दा माथि रहेको छ।
कुल चुक्ता पुँजी पनि ८.२१ प्रतिशतले बढेर ४१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
सञ्जीवनीले कर्जा सीमा मिच्यो
लघुवित्त संस्थाहरूको नियामकीय अनुपालनमा केही कमजोरीसमेत देखिएको राष्ट्र बैंकले जनाएको छ। खुद्रा लघुवित्तले कुल कर्जाको ३३.३३ प्रतिशतभन्दा बढी धितो कर्जा प्रवाह गर्न नपाउने व्यवस्था भए पनि सञ्जीवनी लघुवित्तले ३८.३४ प्रतिशत धितो कर्जा प्रवाह गरेको पाइएको छ।
समग्र लघुवित्त क्षेत्रको धितो कर्जा भने १३.७८ प्रतिशत रहेको छ।
त्यस्तै सञ्जीवनी लघुवित्तले सुपरिवेक्षकीय सूचना प्रणालीमा आवश्यक तथ्याङ्कसमेत नपठाएको राष्ट्र बैंकले जनाएको छ। अन्य ९ वटा संस्थाले पनि न्यून मात्रामा विवरण पठाएको पाइएपछि आवश्यक पत्राचार गरिएको छ।
कृषि क्षेत्रमा न्यूनतम एकतिहाइ कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था तथा तरलता र नगद मौज्दातसम्बन्धी निर्देशन भने सञ्जीवनीबाहेक अधिकांश संस्थाले पालना गरेको प्रतिवेदनमा उल्लेख छ।
Situation-of-Microfinance-Institutions-as-on-2083-AsarAI Pics



