पुँजीकोष र नगद मौज्दातमा लापरबाही, ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
काठमाडौँ । नियामकीय मापदण्ड पालना नगर्ने लघुवित्त वित्तीय संस्थामाथि नेपाल राष्ट्र बैंकले कारबाही कडा बनाएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका चारवटा लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने अनिवार्य नगद मौज्दात कायम नगरेका दुईवटा लघुवित्तलाई नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डभन्दा कम भएपछि फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूमि लघुवित्त र एनआईसी लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही गरिएको हो। त्यस्तै, अनिवार्य नगद मौज्दात कायम नगरेपछि भीन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्तलाई जरिवाना गरिएको छ।
पुँजीकोष कमजोर देखिएका चारमध्ये फरवार्ड लघुवित्तको पुँजीकोष अनुपात ६.१२ प्रतिशत, धौलागिरीको ६.३८ प्रतिशत, मातृभूमिको ४.०८ प्रतिशत र एनआईसी लघुवित्तको ६.३९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यीमध्ये फरवार्ड, धौलागिरी र एनआईसी लघुवित्तलाई सम्बन्धित नियामकीय व्यवस्थाअनुसार दफा ३(क) र मातृभूमि लघुवित्तलाई दफा ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको हो।
अनिवार्य नगद मौज्दात कायम नगरेपछि भीन नेपाल लघुवित्तलाई पहिलोपटक ५८ रुपैयाँ ३८ पैसा नगद जरिवाना गरिएको छ। सञ्जीवनी लघुवित्तले चैत २०८२ देखि असार २०८३ सम्म पटक–पटक अनिवार्य नगद मौज्दात कायम नगरेपछि चारपटक जरिवाना तिर्नुपरेको छ। सञ्जीवनीलाई क्रमशः ७१३ रुपैयाँ ८८ पैसा, १ हजार ६७ रुपैयाँ ४० पैसा, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ ७८ पैसा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले पुँजीकोष र अनिवार्य नगद मौज्दातजस्ता आधारभूत नियामकीय व्यवस्था पालना नगर्ने संस्थालाई कारबाही गरेको हो। पछिल्लो कारबाहीले लघुवित्त संस्थाहरूलाई नियामकीय मापदण्डअनुसार पुँजीकोष र तरलता व्यवस्थापन गर्न थप दबाब परेको देखिएको छ।



