सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब पुग्यो, दुई महिनामै ऋण सेवामा ८५ अर्ब खर्च
काठमाडौँ, ७ असोज — चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको ४५.०५ प्रतिशत बराबर हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ सुरु हुँदा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो। भदौ मसान्तसम्म विनिमय दरमा भएको नोक्सानी ४३ करोड ६३ लाख रुपैयाँसहित कुल ऋण दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कायम भएको हो।
कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४५.८१ प्रतिशत र बाह्य ऋणको हिस्सा ५४.१९ प्रतिशत रहेको छ। भदौ मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड ९ लाख रुपैयाँ र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षमा सरकारले कुल ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म ६१ अर्ब ५ करोड ७० लाख रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको ९.२८ प्रतिशत हो।
कुल ऋण प्राप्तिमध्ये आन्तरिक ऋण ५० अर्ब रुपैयाँ र बाह्य ऋण ११ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ। वार्षिक लक्ष्यको तुलनामा आन्तरिक ऋण प्राप्ति १२.२० प्रतिशत र बाह्य ऋण प्राप्ति ४.४५ प्रतिशत भएको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा ऋण सेवा अर्थात् साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ। भदौ मसान्तसम्म यसमध्ये ८५ अर्ब १ लाख ६ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेटको २०.३४ प्रतिशत हो।
दुई महिनामा भएको ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणतर्फ ७६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ र बाह्य ऋणतर्फ ८ अर्ब २१ करोड १६ लाख रुपैयाँ भुक्तानी भएको छ। आन्तरिक ऋणको साँवा र ब्याजमा क्रमशः ६३ अर्ब ५४ करोड ५० लाख र १३ अर्ब २५ करोड ४० लाख रुपैयाँ खर्च भएको छ।
त्यस्तै, बाह्य ऋणको साँवा भुक्तानीमा ६ अर्ब ५९ करोड १९ लाख र ब्याजमा १ अर्ब ६१ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ।
भदौ मसान्तसम्म सरकारले कुल ७० अर्ब १३ करोड ६९ लाख रुपैयाँ साँवा र १४ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ। यसअनुसार दुई महिनामा भएको कुल ऋण सेवा खर्चमा साँवाको हिस्सा बढी रहेको छ।
ऋण प्राप्ति र भुक्तानीको मासिक विवरणअनुसार भदौमा मात्रै सरकारले ६१ अर्ब ५ करोड ७० लाख रुपैयाँ नयाँ ऋण प्राप्त गरेको छ। त्यही अवधिमा आन्तरिक र बाह्य ऋण गरी ६० अर्ब १ करोड ४५ लाख रुपैयाँ साँवा तथा ब्याज भुक्तानी गरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बाह्य ऋण प्राप्तिको विवरण डिस्बर्समेन्ट लेटरका आधारमा अभिलेख गरिने भएकाले पछि प्राप्त हुने पत्रअनुसार मासिक ऋण प्राप्तिको तथ्यांकमा केही फरक पर्न सक्ने जनाएको छ।
भाद्र प्रतिवेदन २०८३_5jvledq

