चाडपर्वअघि राजमार्गको सुरक्षा अडिट गर्न सांसद गिरीको माग

राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले चाडपर्व नजिकिँदै गर्दा प्रमुख राजमार्गको अनिवार्य सुरक्षा अडिट गरी जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक संरचना निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले दसैं–तिहार मनाउन लाखौं नेपाली आफ्ना परिवार तथा आफन्तजनसँग भेटघाट गर्न घर फर्किने तयारीमा रहेको बताए । उनले चाडपर्वमा वर्षभरि टाढा रहेका परिवारसँग पुनः जोडिने भावनात्मक यात्राका क्रममा राजमार्गमा अत्यधिक चाप हुने उल्लेख गरे ।

उनले भने, ‘चाडपर्व नजिकिँदै गर्दा लाखौं नेपाली आफ्ना परिवार तथा आफन्तजनसँग दसैं–तिहार मनाउन घर फर्किने तयारीमा छन् । उनीहरूको यो यात्रा वर्षभरि टाढा रहेका परिवारसँग पुनः जोड्ने भावनात्मक यात्रा हो । हरेक वर्ष चाडपर्वमा राजमार्गमा अत्यधिक चाप हुन्छ । जीर्ण सडक, जोखिमयुक्त मोड, पहिरोको सम्भावना, सवारीसाधनको अवस्था र चालकको लापरवाहीले यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ । त्यसैले म सरकारसँग चाडपर्व सुरु हुनुअघि नै प्रमुख राजमार्गको अनिवार्य सुरक्षा अडिट गरी जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक संरचना निर्माण गर्न आग्रह गर्न चाहन्छु । ओभरलोडिङ, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्नुपर्छ ।’

जिर्ण सडक, जोखिमयुक्त मोड, पहिरोको सम्भावना, सवारीसाधनको अवस्था तथा चालकको लापरवाहीका कारण यात्रुहरूको यात्रा जोखिमपूर्ण बन्दै गएको उनले बताए ।

गिरीले चाडपर्व सुरु हुनुअघि नै प्रमुख राजमार्गको सुरक्षा अडिट गर्नुपर्नेमा जोड दिँदै जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक संरचना निर्माण गर्न सरकारसँग आग्रह गरे ।

त्यस्तै, उनले ओभरलोडिङ, तीव्र गति तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कारबाही गर्नुपर्ने बताए ।