नवौँ घरजग्गा प्रदर्शनी : घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक

बजार

प्रमिला कार्की,नेपाल न्यूज बैंक

काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आइतबार दिउँसो १२ बजेसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको जानकारी दिँदै अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको र घरजग्गा खरिदमा समेत उत्साह देखिएको बताए ।

उनले भने, ‘एक्स्पो चलेको चार दिन भयो, अब समापन हुँदैछ । तर अपेक्षा गरेभन्दा बढी नै अवलोकनकर्ता पायौं । लगभग सात महिना अगाडि नै हामीले निर्धारित गरिसकेको कार्यक्रम हो । तर यो भदौ १० गते गएको विनाशकारी बाढीले गर्दा एक्सपो नगरौं कि भन्ने थियो तर बाढीलाई नै मध्यनजर गरेर शिक्षामूलक रुपमा आयोजना गर्यौं र सफल भयौं ।’

उनका अनुसार हिजो(शनिबार)सम्मको तथ्यांकमा करिब ७० हजारले प्रदर्शनी अवलोकन गरेका थिए । अन्तिम दिन थप २५ देखि ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

घिमिरेले यसपटक विगतका प्रदर्शनीको तुलनामा बिक्रीसमेत बढेको बताए । सस्तो तथा कम लागतका घर र जग्गा खरिदमा सर्वसाधारणको आकर्षण देखिएको उनको भनाइ छ ।

उनका अनुसार १ करोड ४० लाख रुपैयाँसम्मका घर एउटै ठाउँबाट ५० वटाभन्दा बढी बिक्री भएका छन् । हिजोसम्म करिब ७० वटा घर बिक्री भएको उनले जानकारी दिए । काठमाडौँ उपत्यकाभन्दा बाहिर चितवन, दाङका, सुनसरीका जग्गाहरू पनि धेरै विक्री भएको उनले बताए ।

घिमिरेले यसपटक प्रदर्शनीस्थलमै घर तथा जग्गा खरिदका लागि बुकिङ गर्नेको संख्या बढेको बताए । विगतमा प्रदर्शनीपछि फलोअपमार्फत बिक्री हुने गरेकामा यसपटक प्रदर्शनीस्थलमै खरिद गर्ने क्रम बढेको उनको भनाइ छ ।

हाउजिङ तथा घरजग्गा विकासका क्षेत्रमा सक्रिय ग्रान्डी डेभलपर्सका अध्यक्ष दीपक कुँवरले सर्वसाधारणले खरिद गर्न सक्ने ‘एफोर्डेबल’ घरलाई प्राथमिकता दिइएको बताए ।

कुँवरका अनुसार टोखा–झोर क्षेत्रमा साढे दुई आनामा दुई तले तीन बेडरुमको घर १ करोड ४० लाख रुपैयाँमा ल्याइएको जानकारी दिए । उक्त घरहरु करिब ८० देखि ८५ प्रतिशत बुकिङ भइसकेको बताए ।

ग्राहकका लागि चरणबद्ध भुक्तानीको व्यवस्था गरिएको र लक्ष्मी बैंकले ५.४९ प्रतिशत ब्याजदरमा १०, १५ र २० वर्षसम्मको कर्जा उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

घरजग्गा क्षेत्रको प्रमुख समस्या हदबन्दी रहेको भन्दै कुँवरले यसले ठूलो रकम रोक्का भएको बताए ।

उनले भने, ‘साथीहरूको २ खर्बभन्दा बढीको प्रोपर्टी रोक्कामा छ। विक्री गरिएका घरहरू पनि पास हुने अवस्थामा छैन । त्यसकारण उपभोक्ताहरुको विश्वास कमजोर भइरहेको छ ।’

हदबन्दीसम्बन्धी समस्या समाधान भए बजारमा ठूलो रकम चलायमान हुने उनको दाबी छ । कुँवरले घरजग्गा क्षेत्र चलायमान हुँदा निर्माणसँग सम्बन्धित रड, सिमेन्टलगायत विभिन्न उद्योगमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

यस्तै, गृहलक्ष्मी रियल्टी लिमिटेडका जनरल म्यानेजर निरज खड्काले चार दिनको प्रदर्शनीमा आफ्नो स्टलमा दैनिक करिब २०० देखि २५० जनासम्म आएको र १२ देखि १५ वटा बुकिङ भएको बताए ।

खड्काका अनुसार मनमैजु रेसिडेन्सीमा २५ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरिएको थियो भने बनेपास्थित नागीडाँडा ग्रीन हिल्समा चार आनाभन्दा बढी जग्गासहितका घर तीन करोड रुपैयाँमा उपलब्ध गराइएको थियो ।

चार दिनसम्म चलेको प्रदर्शनीमा घर तथा जग्गा खरिदबिक्रीसँगै सुरक्षित र व्यवस्थित आवास निर्माणका विषयमा विज्ञ तथा इन्जिनियरबाट जानकारी तथा प्रशिक्षणसमेत दिइएको आयोजकले जनाएको छ ।

व्यवसायीहरुले २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले आफूहरु मर्कामा परेको बताउँदै आएका छन् । हदबन्दीको नियमले कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाका कारण २०७६ अगाडि जग्गा किनेर अपार्टमेन्ट बनाएका सयौँ कम्पनीले घर बनाएर बिक्रीवितरण गर्न नपाएको व्यवसायीको गुनासो छ ।