तोरी तेलमा नयाँ मापदण्ड : ‘सुपर रिफाइन्ड’देखि ‘कोलेस्ट्रोल फाइटर’सम्मका दाबी गर्न रोक
काठमाडौँ । नेपालमा तोरी तेलको उत्पादन, गुणस्तर, प्याकेजिङ र बजारमा गरिने दाबीसम्बन्धी मापदण्ड थप स्पष्ट र कडा बनाइएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी तेलका लागि एनएस ०३ : २०३५ को दोस्रो संशोधन (२०८३) जारी गर्दै खाद्य तेलको गुणस्तर तथा लेबलिङका लागि विभिन्न अनिवार्य व्यवस्था गरेको हो।
नयाँ मापदण्डअनुसार मानव उपभोगका लागि बिक्री हुने तोरी तेलमा तोरीको गुणस्तर, अशुद्धता, रासायनिक संरचना तथा विषाक्त पदार्थको निश्चित सीमा तोकिएको छ। तोरी तेल उत्पादनका लागि राम्रो गुणस्तरको तोरीको बीउ वा तोरीको पिना प्रयोग गर्नुपर्नेछ। सोल्भेन्टबाट तेल निकाल्दा खाद्य प्रयोजनका लागि उपयुक्त हेक्सेन मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
मापदण्डले तोरी तेलमा बाह्य पदार्थ, तलछट, छुट्टिएको पानी, थपिएको रङ वा स्वाद, अखाद्य तेल तथा अर्जिमोन मेक्सिकानाको उपस्थिति हुन नहुने व्यवस्था गरेको छ। तेलको पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट पेरोक्साइड अक्सिजन प्रतिकिलोग्राम हुनुपर्नेछ भने अफ्लाटक्सिन बी–१ को अधिकतम सीमा ३० माइक्रोग्राम प्रतिकिलोग्राम तोकिएको छ।
नयाँ मापदण्डले तोरी तेललाई उत्पादन विधि र गुणस्तरका आधारमा विभिन्न समूहमा विभाजन गरेको छ।
एक्सप्रेस्ड प्रकारमा रिफाइन्ड, भर्जिन र एक्सपेलर तथा सोल्भेन्ट एक्स्ट्र्याक्टेड प्रकारमा रिफाइन्ड र ग्रेड–१ तोकिएको छ।
यीमध्ये एक्सप्रेस्ड प्रकारका तोरी तेल र सोल्भेन्टबाट निकालिएको रिफाइन्ड तोरी तेल प्रत्यक्ष मानव उपभोगका लागि योग्य हुनेछन्। तर ग्रेड–१ सोल्भेन्ट एक्स्ट्र्याक्टेड तोरी तेल प्रत्यक्ष खानका लागि नभई रिफाइन्ड तेल उत्पादनमा मात्र प्रयोग गर्नुपर्नेछ।
ग्रेड–१ तेलको प्याकेजमा उपभोक्ताले स्पष्ट रूपमा बुझ्ने गरी ‘प्रत्यक्ष खाद्य उपभोगका लागि होइन’ भन्ने चेतावनी राख्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो चेतावनी कम्तीमा ५० मिलिमिटर अक्षरको आकारमा राख्नुपर्ने मापदण्डमा उल्लेख छ।
तोरी तेलको बजार प्रवर्द्धन तथा विज्ञापनमा अतिरञ्जित स्वास्थ्यसम्बन्धी दाबी गर्न पनि रोक लगाइएको छ। ‘सुपर रिफाइन्ड’, ‘डबल रिफाइन्ड’, ‘एन्टी–कोलेस्ट्रोल’, ‘कोलेस्ट्रोल फाइटर’, ‘हृदयका लागि लाभदायक’ वा ‘स्याचुरेटेड फ्याट फ्री’ जस्ता दाबी लेबल, विज्ञापन वा बजार प्रवर्द्धनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
मापदण्डले तोरी तेलमा सिसा अधिकतम ०.१, आर्सेनिक ०.१, क्याडमियम १ र कुल पारो ०.२५ मिलिग्राम प्रतिकिलोग्रामसम्म हुन सक्ने सीमा तोकेको छ। त्यस्तै, विभिन्न प्रकारका तेलमा एसिड भ्यालु, आयोडिन भ्यालु, सापोनिफिकेसन भ्यालु, रिफ्रेक्टिभ इन्डेक्स, चिस्यान तथा अघुलनशील अशुद्धताको सीमा पनि निर्धारण गरिएको छ।
सोल्भेन्टबाट निकालिएको रिफाइन्ड तोरी तेलमा हेक्सेनको अवशेष अधिकतम ५ पीपीएम हुनुपर्नेछ। हेक्सेन अवशेष परीक्षणका लागि हेडस्पेस ग्यास क्रोमाटोग्राफी विधि प्रयोग गर्ने व्यवस्था गरिएको छ। अफ्लाटक्सिन परीक्षणका लागि एलिसा विधि तथा तेलमा मिसावट पत्ता लगाउन पोलिब्रोमाइड परीक्षणको व्यवस्था पनि मापदण्डमा गरिएको छ।
प्याकेजिङतर्फ खाद्य तोरी तेल टिनका तोकिएका कन्टेनर वा पाँच लिटरसम्मका प्लास्टिक कन्टेनरमा प्याक गर्नुपर्नेछ। पहिले प्रयोग भइसकेका टिन वा प्लास्टिक कन्टेनर पुनः प्रयोग गरी खाद्य तेल प्याक गर्न नपाइने व्यवस्था गरिएको छ।
उत्पादनको लेबलमा तेलको नाम, प्रकार वा ग्रेड, खुद परिमाण, उत्पादकको विवरण, ब्याच वा लट नम्बर तथा उत्पादनको महिना र वर्ष अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। यी विवरण नेपाली वा अंग्रेजी भाषामा राख्न सकिनेछ।
नयाँ मापदण्डले तोरी तेलको उत्पादनदेखि बजारमा बिक्रीसम्म गुणस्तर, खाद्य सुरक्षा र उपभोक्तालाई दिइने सूचनालाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न प्रावधान समेटेको छ।
तोरी, सोयाबिन र सूर्यमुखी तेलका लागि छुट्टाछुट्टै गुणस्तर सीमा
तोरी, सोयाबिन र सूर्यमुखी तेलको प्रकृतिअनुसार रासायनिक गुणस्तरका सीमा पनि फरक–फरक तोकिएका छन्।
तोरी तेलमा रिफ्रेक्टिभ इन्डेक्स ४० डिग्री सेल्सियसमा १.४६४६ देखि १.४६६२, सापोनिफिकेसन भ्यालु १६८ देखि १७७ र आयोडिन भ्यालु ९६ देखि ११२ हुनुपर्नेछ। रिफाइन्ड तोरी तेलको एसिड भ्यालु अधिकतम ०.५, भर्जिनमा १.५ तथा एक्सपेलर र सोल्भेन्ट ग्रेड–१ मा ६ तोकिएको छ।
सोयाबिन तेलमा रिफ्रेक्टिभ इन्डेक्स १.४६५० देखि १.४७१०, सापोनिफिकेसन भ्यालु १८९ देखि १९५ र आयोडिन भ्यालु १२० देखि १४० हुनुपर्नेछ। रिफाइन्ड सोयाबिन तेलको एसिड भ्यालु अधिकतम ०.५ तथा डिगम्ड र ग्रेड–१ मा २.५ तोकिएको छ।
सूर्यमुखी तेलमा रिफ्रेक्टिभ इन्डेक्स १.४६६० देखि १.४६९०, सापोनिफिकेसन भ्यालु १८८ देखि १९४ र आयोडिन भ्यालु ११० देखि १४३ तोकिएको छ। रिफाइन्ड प्रकारको एसिड भ्यालु अधिकतम ०.५, एक्सप्रेस्ड ग्रेड–१ मा ३ र सोल्भेन्ट एक्स्ट्र्याक्टेड ग्रेड–१ मा ४ तोकिएको छ।


