२१ बुँदे कार्ययोजनापछि नेप्सेमा उछाल, ४८ अंकले बढ्यो

Headlines बैंक/वित्त

कारोबार रकम पनि बढेर ८ अर्ब २९ करोड पुग्यो, २६५ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटै उपसमूह हरियो

काठमाडौँ — सरकारले पुँजी बजार सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेसँगै सेयर बजारमा उत्साह देखिएको छ। कार्ययोजना सार्वजनिक भएको भोलिपल्ट मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६ सय ३३.६२ विन्दुमा पुगेको छ।

बजारमा कारोबार भएका ३४७ स्टकमध्ये २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने उल्लेख्य परिवर्तन देखिएन।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। मंगलबार ७८ हजार ८६९ पटकको कारोबारमा २ करोड ३ लाख ८७ हजार ६६० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ पुगेको छ। सोमबार ४ अर्ब ६८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

सरकारले अर्थ मन्त्रालयमार्फत ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेपछि बजारमा सकारात्मक प्रभाव परेको हो। बाढीपहिरोबाट अर्थतन्त्र तथा जलविद्युत् क्षेत्रमा परेको असरका बीच पुँजी बजारमा लगानी र तरलता बढाउने तथा बजारको सुधार गर्ने उद्देश्यसहित कार्ययोजना ल्याइएको हो।

मंगलबार सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले बढेको छ। फ्लोट इन्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१३ अंकले बढेका छन्।

सबै उपसमूह बढे

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। निर्जीवन बीमा उपसमूह सबैभन्दा बढी २.८२ प्रतिशतले बढेको छ।

वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र लघुवित्त उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उक्लिएका छन्।

यसले मंगलबारको वृद्धि कुनै एक–दुई समूहमा मात्र सीमित नरही बजारका अधिकांश क्षेत्रमा फैलिएको देखाएको छ।

धौलागिरी लघुवित्तका लगानीकर्ता अगाडि

मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १४.९६ प्रतिशतले बढेर १ हजार ११९ रुपैयाँ पुगेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य ११ प्रतिशतले बढेको छ भने मल्टीपर्पस फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

कारोबार भएका कम्पनीमध्ये एभरेस्ट बैंकको अपरिवर्तनीय ऋणपत्रको मूल्य सबैभन्दा धेरै ५.५५ प्रतिशतले घटेको छ।

रिलायन्स स्पिनिङमा सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। शिवम् सिमेन्ट्सको साढे ३१ करोड रुपैयाँभन्दा बढी र अपि पावरको करिब साढे २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

पुँजी बजार सुधारका लागि सरकारले ल्याएको कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा खरिद चाप बढेको देखिएको छ। अब कार्ययोजनामा घोषणा गरिएका सुधारका कार्यक्रम व्यवहारमा कसरी कार्यान्वयन हुन्छन् भन्ने विषयले बजारको आगामी दिशा तय गर्नेछ।