काठमाडौँ — भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९२ जनाको शव फेला परेको छ भने ४ हजार ८९ जना अझै बेपत्ता छन् । भदौ १० गते आएको बाढीपछि खोजी तथा उद्धार जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अंगसहितका शव छन् । फेला परेका शवमध्ये हालसम्म १०३ वटा आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ २ हजार ९०७ पुरुष र ५७२ महिला छन् । त्यस्तै विदेशी नागरिकतर्फ २७२ पुरुष र ३२८ महिला अझै सम्पर्कविहीन छन् ।
बाढीपछि हालसम्म ९ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र पहिचान नखुलेका ५० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उद्धार गरिएकामध्ये २ हजार ७८१ जनालाई होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले बताए ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ । ठूलो संख्यामा शवको पहिचान हुन बाँकी रहेकाले मृतक तथा आफन्तको डीएनए नमुना संकलन गरी परीक्षणको काम अघि बढाइएको प्रहरीले जनाएको छ ।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव पहिचान र व्यवस्थापनको काम जारी छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।
बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण अझै संकलनको क्रममा रहेकाले बेपत्ता व्यक्तिको खोजी र फेला परेका शवको पहिचान पूरा भएपछि मृतक तथा बेपत्ताको संख्या थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।


