काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ।
निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएपछि सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो।
२०८३ भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो।
उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुनुहुन्छ। उहाँ बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय हुनुहुन्छ। सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थागत विकास र सुदृढीकरणमा योगदान पुर्याउँदै आउनुभएका उपाध्यायसँग बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको नेतृत्व तहमा काम गरेको अनुभव छ।
बैंकिङ क्षेत्रले नीतिगत तथा व्यावहारिक चुनौती सामना गरिरहेको वर्तमान आर्थिक परिवेशमा उपाध्यायको नेतृत्वमा सिबिफिनले आफ्ना नीतिगत प्राथमिकता तथा संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सिबिफिनले बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासका लागि निजी क्षेत्र तथा सम्बन्धित नियामक निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।


