आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिने भन्दै पाँच जनाबाट लाखौँ ठगी

अपराध तथा सुरक्षा विविध

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा झापा घर भई बूढानीलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भई सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा र ओखलढुङ्गा घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा छन्।

प्रहरीका अनुसार सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै एक जनाबाट ५ लाख ३५ हजार रुपैयाँ लिएकी थिइन्। करिनाले लिथुआनिया पठाइदिने भन्दै २ लाख ५० हजार, साजनले फिनल्यान्ड पठाइदिने भन्दै १२ लाख, पेमाले रोमानिया पठाइदिने भन्दै १ लाख र तोमकुमारीले माल्टा पठाइदिने भन्दै १ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। सुष्मालाई बूढानीलकण्ठ–१०, करिना र साजनलाई काठमाडौं महानगरपालिका–३, पेमालाई महानगरपालिका–१२ र तोमकुमारीलाई महानगरपालिका–१५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।