काठमाडौं । धितोपत्र तथा बीमा कानुनअन्तर्गतको कसुरमा फरार रहेका चार जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा भइरहेको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय सुभाष पौडेल छन्। उनी हिमालयन इन्भेष्टमेन्ट बैंकर्स लिमिटेडका लगानी सदस्य हुन्। पौडेल धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ललितपुरकी ४१ वर्षीया सुनिता महर्जन पक्राउ परेकी छन्। उनी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य हुन्। उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेको सीआईबीले जनाएको छ।
बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेका नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका दुई सञ्चालक सदस्य पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ का ४५ वर्षीय अनुप मालाकार र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ की ३९ वर्षीया सुनिता श्रेष्ठ छन्।
सीआईबीले चारै जनालाई अनुसन्धानपछि आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जनाएको छ।


