काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई नेपालमै लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले सूचना प्रविधि क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै यस क्षेत्रमा लगानी बढाउन सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।
मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका युवा उद्यमीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले छोटो समयमै ठूलो उपलब्धि हासिल गर्न सकिने क्षेत्र भएकाले व्यवसाय विस्तारमा आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।
“सूचना प्रविधि क्षेत्रमा छोटो समयमा ठूलो फड्को मार्न सकिन्छ। तपाईंहरू लगानी बढाउनुहोस्, आफूलाई फैलाउनुहोस्। सरकार तपाईंहरूको साथमा छ,” उनले भने, “के–के गर्नुपर्ने हो भन्नुहोस्।”

वाग्लेले नेपालमा कृषिजन्य वस्तुको उत्पादन तथा निर्यातमा लगानी गर्दा प्रतिफल आउन लामो समय लाग्ने गरेको स्मरण गर्दै सूचना प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा कम समयमै प्रतिफल हासिल गर्न सकिने बताए।
उनका अनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृत्रिम बौद्धिकता (एआई)को विकासका लागि बजेट विनियोजन गर्नुका साथै सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले बताए।
‘युवालाई विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ’
अर्थमन्त्री वाग्लेले सूचना प्रविधिको विकासमार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताए।
“तपाईंहरूको कुरा भन्नुहोस्। तपाईंहरूको क्षेत्र फलोस्–फुलोस्। युवाहरू विदेशिन नपरोस्,” उनले भने, “अहिले अवस्था कस्तो छ, सरकारले के गरिदिनुपर्यो भन्नुहोस्।”
सरकारले विश्वस्तरीय सूचना प्रविधि कम्पनीलाई नेपालमा आकर्षित गर्ने प्रयास गरिरहेको जानकारी दिँदै उनले नेपाललाई सूचना प्रविधिको भ्यालु चेन विकास हुने हबका रूपमा अघि बढाउने रणनीति रहेको बताए।
व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी तथा नीतिगत समस्या क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै उनले उद्यमीलाई आफ्ना समस्या खुलेर सरकारसमक्ष राख्न आग्रह गरे।
उद्यमीले मागे एकल विन्दु सेवा
छलफलमा सहभागी दुई दर्जनभन्दा बढी सूचना प्रविधि क्षेत्रका युवा उद्यमीले सरकारले क्षेत्रलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिएका थिए।
उनीहरूले सूचना प्रविधि व्यवसाय सञ्चालनमा रहेका प्रक्रियागत तथा कानुनी जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराए।
उद्यमीहरूले सूचना प्रविधि क्षेत्रका लागि एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, विदेशी मुद्रा सटहीको सुविधा सहज बनाउनुपर्ने तथा व्यवसाय सञ्चालनमा देखिएका कानुनी अवरोध हटाउनुपर्ने माग राखेका छन्।
उनीहरूले सरकारले नीति तथा पूर्वाधारमा सहजीकरण गरे सूचना प्रविधिबाट रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जन बढाउन सकिने बताए।


