काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ पदमा ३४ कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले रक्षक, सिपाही, सवारी चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी पदका लागि अनलाइन दरखास्त आह्वान गरेको हो।
बैंकले रक्षकमा एक, सिपाहीमा चार, हलुका सवारी चालकमा सात, बस चालकमा तीन, डिस्पेन्सरीमा दुई र कार्यालय सहयोगीमा १७ जना माग गरेको छ।
दरखास्त दिन इच्छुक उम्मेदवारले भदौ २३ गतेसम्म अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनका क्रममा शैक्षिक योग्यता, नागरिकता, अनुभवलगायत आवश्यक प्रमाणपत्र स्क्यान गरी पेस गर्नुपर्ने बैंकले जनाएको छ। उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

रक्षक र सिपाही पदमा नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त गरेका तथा तोकिएको तहमा सेवा गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्। चालक पदका लागि कक्षा ८ उत्तीर्णसँगै सम्बन्धित क्षेत्रमा सात वर्षको अनुभव र आवश्यक सवारी चालक अनुमतिपत्र अनिवार्य गरिएको छ।
डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव मागिएको छ। कार्यालय सहयोगीका लागि कक्षा ८ उत्तीर्ण तथा नेपाल सरकारका निकाय, राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा सोही पदमा काम गरी निवृत्तिभरण प्राप्त हुने गरी अवकाश पाएको हुनुपर्नेछ।
राष्ट्र बैंकले छनोट भएका कर्मचारीसँग छ महिनाका लागि करार सम्झौता गर्नेछ। आवश्यकता अनुसार केन्द्रीय तथा प्रदेशस्थित कार्यालयमा खटाउन सकिने जनाएको छ।
रक्षक, सिपाही र चालक पदको छनोट लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट हुनेछ। आवेदन स्वीकृत भएका उम्मेदवार २० वा सोभन्दा कम भए प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट मात्रै छनोट गरिनेछ।
डिस्पेन्सरी र कार्यालय सहयोगी पदमा लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिनेछ। उम्मेदवार संख्या २० वा सोभन्दा कम भए अन्तर्वार्ताबाट मात्रै छनोट गरिने बैंकले जनाएको छ।
आवेदन दस्तुर ८०० रुपैयाँ तोकिएको छ। सबै पदको परीक्षा काठमाडौंमा सञ्चालन हुनेछ। आवेदन राष्ट्र बैंकको वेबसाइटको ‘करियर’ खण्डमा रहेको अनलाइन पोर्टलमार्फत दिन सकिनेछ।
करार-विज्ञापनको-सूचना

