पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ : ढकाल

अर्थ पर्यटन

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय पूर्वाधार विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता घटाउँदै गाउँठाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताएका छन्।

बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले पर्यटन, कृषि र पूर्वाधारलाई स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्ने बताए।

बाइसे–चौबिसे राज्यकालदेखिको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज र रोजगारीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा अन्य विदेशी पर्यटकको संख्या बढेको उल्लेख गर्दै ढकालले त्यसबाट बागलुङले समेत लाभ लिन सक्ने बताए।

‘मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थानलगायत पर्यटकीय स्थलमा आकर्षित गर्न सकिए यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ,’ उनले भने।

पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा बस्ने वातावरण बनाउन गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे पूर्वाधार विस्तार गर्नुपर्ने उनले बताए। केबलकारलगायत पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय तहबाट सहयोग र सहजीकरण भए छोटो समयमै सकारात्मक परिणाम निकाल्न सकिने उनको भनाइ छ।

ढकालले नेपालभित्रकै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ सञ्चालनमा ल्याइएको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघको ढोरपाटन बैठकको निर्णयअनुसार स्थापना गरिएको उक्त कम्पनीले पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रविधिको क्षेत्रमा लगानी विस्तारका लागि काम सुरु गरिसकेको उनले बताए।

स्थानीय स्रोत, सीप र पुँजीलाई उत्पादन तथा पर्यटनसँग जोड्न सके रोजगारीका लागि युवाहरू विदेश जानुपर्ने बाध्यता घटाउन सकिने ढकालको भनाइ थियो।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको सहभागिता थियो।