काठमाडौं । चीनले स्थानीय आवश्यकता, स्रोतसाधन र औद्योगिक क्षमताअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास गर्दै राष्ट्रियस्तरमा एआई पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ। यस वर्ष जुनको अन्त्यसम्म चीनको बुद्धिमान कम्प्युटिङ क्षमता वार्षिक १७७ प्रतिशतले बढेर २ हजार १८५ इफलोप्स पुगेको छ।
चीनका ३१ प्रान्तीयस्तरीय क्षेत्रबाट प्राप्त आर्थिक तथ्यांकले एआई उद्योग क्षेत्रगत र भौगोलिक विशेषताअनुसार विस्तार भइरहेको देखाएको छ। एआईसँग सम्बन्धित उत्पादन तथा सेवाको मागसमेत बढ्दै गएको छ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगअन्तर्गतको स्टेट इन्फर्मेसन सेन्टरका अनुसन्धानकर्ता सियाओ होङवेईका अनुसार एकीकृत सर्किट र औद्योगिक रोबोटजस्ता उदीयमान उद्योगमा एआईको प्रभाव बढ्दै गएको छ। उनका अनुसार चीनमा एआई प्राविधिक अवधारणाबाट वास्तविक उत्पादकत्व वृद्धिको माध्यममा रूपान्तरण हुने प्रक्रिया तीव्र भइरहेको छ।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार देशभरका कम्प्युटिङ सुविधाको औसत उपयोग दर ७१.४ प्रतिशत पुगेको छ। एक इफलोप्स प्रतिसेकेन्ड एक क्विन्टिलियन फ्लोटिङ–पोइन्ट गणनासरहको कम्प्युटिङ क्षमता हो।
बेइजिङ, साङ्घाई र ग्वाङडोङ एआई उद्योग विकासका प्रमुख केन्द्रका रूपमा देखिएका छन्। प्रविधि, जनशक्ति तथा औद्योगिक पूर्वाधारका कारण यी क्षेत्रमा एकीकृत सर्किट, औद्योगिक रोबोटलगायत क्षेत्रमा एआईको पूर्ण औद्योगिक शृंखला विकास भइरहेको छ।
बेइजिङले आफूलाई विश्वव्यापी एआई नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेको छ। जुलाई २३ सम्म त्यहाँ २५९ वटा लार्ज मोडल र १९५ वटा एआई उत्पादन दर्ता भएका छन्। साङ्घाईमा जुनको अन्त्यसम्म १६९ वटा एआई लार्ज मोडल दर्ता तथा स्वीकृत भएका थिए।
साङ्घाईका ३९४ ठूला एआई उद्यमले सन् २०२५ मा ६३७ अर्ब युआनभन्दा बढीको औद्योगिक उत्पादन गरेका थिए। ग्वाङडोङमा पनि मुख्य एआई उद्योगको आकार गत वर्ष ३०० अर्ब युआनभन्दा बढी पुगेको थियो।
चीनका अन्य प्रान्तले पनि आफ्ना स्रोतसाधन र औद्योगिक क्षमताअनुसार एआई विकासका फरक क्षेत्र पहिचान गरेका छन्। आन्हुईले एआई चिप उद्योग, हुबेईले अप्टोइलेक्ट्रोनिक्स तथा अप्टिकल सञ्चार, हेनानले कम्प्युटिङ पूर्वाधार र सिन्जियाङ, भित्री मङ्गोलिया तथा गुइझोउले स्वच्छ ऊर्जामा आधारित बुद्धिमान कम्प्युटिङ केन्द्र विस्तार गरिरहेका छन्।
हुबेईको लिचुआनस्थित एआई कम्प्युटिङ सेन्टरले पहाडी क्षेत्रको शीतल हावापानी र जलविद्युत् स्रोतलाई एआई पूर्वाधार विकासमा उपयोग गरेको छ। करिब १५० पेटाफ्लप्स कम्प्युटिङ क्षमता रहेको उक्त केन्द्रको उपयोग दर ८० प्रतिशतभन्दा बढी छ।
केन्द्रले संस्कृति तथा पर्यटन, सरकारी सेवा र एयरोस्पेस क्षेत्रमा सेवा दिइरहेको छ। लिचुआनमा वार्षिक दुई करोडभन्दा बढी पर्यटकबाट उत्पन्न तथ्यांकलाई उपयोग गरी संस्कृति तथा पर्यटन सेवाका लागि स्वदेशी लार्ज मोडलसमेत विकास गरिएको छ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले उच्च गुणस्तरको कम्प्युटिङ पूर्वाधार विस्तारसँगै हब, क्षेत्रीय र एज कम्प्युटिङ सुविधाको समन्वयात्मक विकासलाई अघि बढाएको छ। देशभरको कम्प्युटिङ क्षमताको अनुगमनका लागि राष्ट्रिय एकीकृत स्वचालित अनुगमन प्रणाली स्थापना गर्ने कामसमेत अघि बढाइएको छ।


