तेजन खड्का,
उर्लाबारी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै कोशी प्रदेशमा पार्टी नेतृत्वको प्रतिस्पर्धा पनि पेचिलो बन्दै गएको छ। केन्द्रीय महाधिवेशनपछि हुने प्रदेश अधिवेशनलाई लक्षित गर्दै प्रदेश सभापतिका लागि चार प्रभावशाली नेताले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्।
प्रदेश सभापतिका आकांक्षीमा मोरङ कांग्रेसका सभापति तथा पूर्व संघीय मन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेशका महामन्त्री उमेश थापा, सहमहामन्त्री तथा उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागो र राष्ट्रियसभा संसदीय दलका पूर्व नेता रमेशजंग रायमाझी छन्।
प्रदेश अधिवेशनको मिति औपचारिक रूपमा तय भइनसके पनि आकांक्षी नेताहरूले आन्तरिक भेटघाट, परामर्श र कार्यकर्ता परिचालनलाई तीव्र बनाएका छन्।
चारै नेताले संगठन विस्तार, नयाँ पुस्ताको सहभागिता, राजनीतिक मुद्दाको सम्बोधन र आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने लक्ष्यलाई आफ्नो नेतृत्वको आधारका रूपमा अघि सारेका छन्।
जिल्ला नेतृत्वपछि प्रदेशको जिम्मेवारीमा लिम्बू
मोरङ कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिरहेका पूर्वसंघीय मन्त्री डिकबहादुर लिम्बूले अब प्रदेशको नेतृत्वमा आफ्नो दाबी स्वाभाविक भएको बताए। जिल्ला तहको जिम्मेवारी पूरा गरिसकेपछि प्रदेश संगठनलाई थप सुदृढ बनाउन आफू अघि बढेको उनको भनाइ छ।
लिम्बूले संगठन सुदृढीकरण, केन्द्रका नीति तथा कार्यक्रमलाई वडा र टोल तहसम्म पु¥याउने र आगामी निर्वाचनका लागि पार्टीलाई अहिलेदेखि नै बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
उनका अनुसार कोशी प्रदेशमा पहिचान र समावेशिताको मुद्दा अझै उत्तिकै सान्दर्भिक छ। कांग्रेसले यी विषयलाई राजनीतिक रूपमा सम्बोधन गर्दै सबै समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।
‘कोशी प्रदेशमा समावेशी र पहिचानको कुरा अत्यन्त ठूलो रूपमा उठेको छ। संगठनलाई जुन रूपमा लैजानुपर्ने थियो, त्यो हुन सकेको छैन। साथीहरूसँग मिलेर संगठन सुदृढ गर्ने र आगामी निर्वाचनका लागि अहिलेदेखि नै बल पु¥याउने उद्देश्यले उम्मेदवारी प्रस्तुत गरेको हुँ,’ लिम्बूले भने।
उनले कांग्रेसको नीति, कार्यक्रम र समावेशी संरचनालाई दस्तावेजमा सीमित नराखी जनतासम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीमा युवा तथा नयाँ पुस्तालाई जिम्मेवार भूमिका दिएर अघि बढाउनु पनि आफ्नो प्राथमिकता रहेको उनले बताए।
महामन्त्रीको अनुभवलाई सभापतिको आधार बनाउँदै थापा
कोशी प्रदेशका वर्तमान महामन्त्री उमेश थापाले साढे चारदेखि पाँच वर्षको सांगठनिक अनुभवलाई प्रदेश सभापतिको दाबीसँग जोडेर प्रस्तुत गरेका छन्। प्रदेश कार्यसमिति गठन भएयता संगठन विस्तारदेखि भौतिक संरचना निर्माणसम्मका काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको दाबी छ।
थापाका अनुसार प्रदेश कांग्रेसले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गर्नुका साथै संगठनलाई प्रदेशभर विस्तार गरेको छ। स्थानीय तहमा कांग्रेसलाई पहिलो शक्ति र प्रदेशसभामा दोस्रो ठूलो दल बनाउन वर्तमान कार्यसमिति सफल भएको उनको भनाइ छ।
‘साढे चार–पाँच वर्ष महामन्त्री भएर काम गरेको छु। प्रदेश कार्यसमिति गठन हुँदा हामीले आफ्नै जग्गा किन्यौँ, भवन बनायौँ र प्रदेशभर संगठन विस्तार ग¥यौँ। अब अझ बढी संगठन विस्तार गरेर कोशी प्रदेशमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्देश्यसहित मेरो उम्मेदवारी हो,’ थापाले भने।
उनले बदलिँदो राजनीतिक परिस्थिति र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्न पार्टी नेतृत्वमा नयाँ सोच र ऊर्जा आवश्यक रहेको बताए। ‘नवीन कांग्रेस’ निर्माण र सरकारका विभिन्न तहमा युवाहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्न आफू नेतृत्वका लागि तयार भएको उनको भनाइ छ।
पहिल्यै घोषणा गरेर मैदानमा उत्रिएका फागो
कोशी प्रदेश कांग्रेसका सहमहामन्त्री तथा उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागोले प्रदेश सभापतिमा आफ्नो दाबी नयाँ नभएको बताएका छन्। उनले नेतृत्वका लागि आफूले यसअघि नै तयारी र घोषणा गरिसकेको उल्लेख गरेका छन्।
स्थानीय तहको नेतृत्वदेखि प्रदेश संगठनमा काम गरेको अनुभवलाई आफ्नो राजनीतिक आधार बनाएका फागोले प्रदेशको नेतृत्वमा रहेर संगठनलाई थप गतिशील बनाउने लक्ष्य राखेका छन्।
प्रदेश नेतृत्वका लागि अन्य नेताहरूको आकांक्षालाई पनि स्वाभाविक रूपमा लिँदै उनले प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा मानेका छन्।
‘प्रदेश सभापतिमा लड्ने भनेर मैले पहिल्यै भनिसकेको हुँ। संघीय मन्त्री भइसकेका साथीहरू माथिल्लो तहमा गएर काम गर्दा हुन्छ भन्ने पनि हामीले ठानेका थियौँ। तर डिकबहादुर दाइको इच्छा पनि ठीकै हो,’ फागोले भने।
रायमाझीको पनि सक्रियता, आन्तरिक परामर्श तीव्र
राष्ट्रियसभाका पूर्व संसदीय दलका नेता रमेशजंग रायमाझीले पनि कोशी प्रदेश सभापति बन्ने आकांक्षा राखेका छन्। उनले प्रदेशका नेता तथा कार्यकर्तासँगको भेटघाट र आन्तरिक परामर्शलाई तीव्र बनाएको कांग्रेस वृत्तमा चर्चा छ।
राष्ट्रिय राजनीतिमा संसदीय अनुभव हासिल गरेका रायमाझीको दाबीले प्रदेश नेतृत्वको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। यद्यपि उनले आफ्नो उम्मेदवारी र भावी रणनीतिबारे औपचारिक रूपमा विस्तृत धारणा सार्वजनिक गर्न बाँकी छ।
करिब २७ सय प्रतिनिधिबीच नेतृत्व चयन
कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र रहेका छन्। प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा पालिका सभापतिसहित करिब ९३ देखि ९४ जना प्रतिनिधि सहभागी हुने अनुमान छ।
यस आधारमा प्रदेश अधिवेशनमा करिब २७ सय प्रतिनिधि सहभागी हुने बताइएको छ। प्रदेशका केन्द्रीय सदस्यहरू पनि निर्वाचन प्रक्रियामा सहभागी हुने कांग्रेसले जनाएको छ।
प्रदेश नेतृत्व चयनको प्रक्रिया केन्द्रीय महाधिवेशनपछि अघि बढ्नेछ। कात्तिक, मंसिर वा पुससम्म प्रदेश अधिवेशन हुन सक्ने नेताहरूको अनुमान छ। तर स्थानीय तहको निर्वाचनको समय र पार्टीको केन्द्रीय निर्णयले प्रदेश अधिवेशनको कार्यतालिकालाई प्रभावित पार्न सक्ने देखिन्छ।
नेतृत्वको प्रतिस्पर्धासँगै संगठनको भविष्यमा चासो
प्रदेश सभापतिका चार आकांक्षीले फरक–फरक अनुभव, राजनीतिक पृष्ठभूमि र एजेन्डासहित दाबी प्रस्तुत गरे पनि उनीहरूको साझा लक्ष्य कांग्रेसलाई कोशी प्रदेशमा बलियो बनाउनु देखिन्छ।
अबको प्रतिस्पर्धा व्यक्तिगत प्रभाव र राजनीतिक समीकरणमा मात्र सीमित रहने वा संगठनको भावी दिशा, समावेशिता, युवा सहभागिता र चुनावी रणनीतिमा केन्द्रित हुने भन्ने चासो कांग्रेसभित्र बढेको छ। प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा आकांक्षीहरूबीच सहमति जुट्छ वा निर्वाचनमार्फत नेतृत्व चयन हुन्छ भन्ने विषयले कोशी कांग्रेसको राजनीतिक माहोललाई थप तताउने निश्चित देखिन्छ।



