कपिलवस्तुमा फेरी १३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४२७

विविध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको जम्मा संख्या ५९ पुगेको हो । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् ।त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ । यसैबीच नेपालमा आज मात्रै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको हो । आज भेटिएका कोरोना संक्रमितहरु ३ देखि ४७ उमेरका रहेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।नेपालमा अहिलेसम्म कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भईसकेको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ ।