रामेछाप । वीर गोर्खालीहरूले घरेलु हतियारको भरमा अंग्रेज सेनाविरुद्ध लडेर विजय हासिल गरेको ऐतिहासिक सिन्धुलीगढीको महत्व उजागर गर्दै शनिबार चियाबारी–सिन्धुलीगढी पदयात्रा आयोजना गरिएको छ।
ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण, प्रवद्र्धन र पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा पदयात्रा सञ्चालन गरिएको हो ।
नेपाली सेनाको मध्य पृतना हेडक्वाटरको आयोजनामा तथा श्री नं. ९ बाहिनी अड्डाको संयोजनमा सम्पन्न पदयात्रामा कमलामाई नगरपालिकासहित विभिन्न निकायले समन्वय र सहकार्य गरेका थिए।

नेपालको इतिहासमा विशेष महत्व बोकेको सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको युद्धस्थलका रूपमा परिचित छ ।
वि.सं. १८२४ मा भएको सिन्धुलीगढी युद्धमा गोर्खालीहरूले सीमित स्रोतसाधन र घरेलु हतियार प्रयोग गर्दै अंग्रेज सेनाको योजनालाई विफल पारेका थिए। उक्त विजयलाई नेपाली स्वाभिमान, साहस र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गरिन्छ।
यसै ऐतिहासिक धरोहरलाई नयाँ पुस्तासम्म पु¥याउने तथा सिन्धुलीगढीको पुरानो पदमार्गलाई जीवन्त राख्ने उद्देश्यले हरेक वर्ष पदयात्रा सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ।
पदयात्रामा जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी तथा नागरिक अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले चियाबारीदेखि सिन्धुलीगढीसम्म करिब आठ किलोमिटर उकालो यात्रा गर्दै ऐतिहासिक स्थलको अवलोकन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेनाका सहायक रथी भूमिभक्त बरालले नेपाली सेनाले देशभर रहेका ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको बताए।
चियाबारी–सिन्धुलीगढी पदयात्रा पनि सोही अभियानको निरन्तरता भएको उनको भनाइ थियो। ‘यस्ता कार्यक्रमले राष्ट्रको संरक्षणका लागि पुर्खाहरूले पु¥याएको योगदानप्रति सम्मान प्रकट गर्नुका साथै नयाँ पुस्तामा इतिहासप्रति गर्व र जिम्मेवारीको भावना विकास गर्छ,’ सहायक रथी बरालले भने।
सहभागीहरूले सिन्धुलीगढी केवल एउटा पर्यटकीय गन्तव्य मात्र नभई नेपाली वीरता र राष्ट्रिय अस्मिताको जीवित प्रतीक भएकाले यसको संरक्षण र प्रचारप्रसारमा सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए।
चियाबारी क्षेत्र हुँदै प्राकृतिक सौन्दर्यले भरिपूर्ण ऐतिहासिक सिन्धुलीगढीसम्म पुग्ने पदमार्गलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारका रूपमा समेत हेरिएको छ। स्थानीय तह र सरोकारवाला निकायले यस पदमार्गको पूर्वाधार विकास तथा ऐतिहासिक महत्वको थप प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सिन्धुलीगढी नेपालको सैन्य इतिहासको गौरवपूर्ण अध्यायसँग जोडिएको स्थल भएकाले यसको संरक्षण केवल सम्पदा जोगाउने कार्य मात्र नभई राष्ट्रिय पहिचान र स्वाभिमानको रक्षा गर्ने अभियानसमेत हो ।
