काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आज (शनिबार) बाट सुरु हुन लागेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिउँसो १२ः१५ बजे कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा महाधिवेशन उद्घाटन गर्ने भएका छन् ।
संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ ।
महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने तथा थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

थारु संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने अपेक्षा गरिएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका शीर्ष नेताहरू, थारु समुदायका अगुवा व्यक्तित्वहरू, विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।
संघका नेताहरूका अनुसार थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्रतिनिधित्वका सवाललाई सशक्त रूपमा उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यसहित महाधिवेशन आयोजना गर्न लागिएको हो ।
महाधिवेशनले थारु समुदायलाई संगठित गर्दै नेपाली कांग्रेसभित्र थारु समुदायको भूमिका र सहभागिता थप सशक्त बनाउने विश्वास गरिएको छ । उद्घाटन समारोहसँगै महाधिवेशनका विभिन्न सत्रहरूमा संगठनको भावी रणनीति, नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुने कार्यक्रम छ ।
महाधिवेशनका लागि थारु समुदायका सयौँ नेता तथा कार्यकर्ताहरू काठमाडौं आइसकेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
