काठमाडौं, १५ जेठ २०८३ – युरोपेली संघ र युनिसेफ नेपालले आज काठमाडौं अन्तर्राष्ट्रिय पर्वत चलचित्र महोत्सव (KIMFF) २०२६ मा “आशा: ड्रीम्स इन मोशन” नामको घुम्ती चलचित्र प्रदर्शन र संवाद कार्यक्रम सुरु गरेका छन्। यस कार्यक्रममा सरकार, निजी क्षेत्र र शिक्षा क्षेत्र र विकास साझेदारहरूका प्रतिनिधीहरू तथा युवाहरूको सहभागीतामा बदलिँदो श्रम बजारका लागि किशोर–किशोरी र युवाहरूलाई कसरी राम्रोसँग तयार गर्ने र उनीहरूलाई भविष्यमा चाहिने सीप कसरी दिने भन्ने विषयमा छलफल गरिएको थियो।
“आशा: ड्रीम्स इन मोशन” ले नेपालका विभिन्न भागहरू जस्तै पश्चिमको धनगढीदेखि दक्षिण–पूर्वको जनकपुरसम्मका तीन जना युवाका कथाहरू देखाउँछ। यस डकुमेन्ट्रीमा उनीहरूले पढाइ, तालिम र रोजगारी खोज्ने क्रममा भोगेका अनुभवहरू देखाइएको छ, साथै उनीहरूले आफ्नो भविष्य बनाउँदै गर्दा सामना गरेका चुनौतीहरू र लिएका निर्णयहरू पनि देखाइएको छ।
“मलाई साइबर सुरक्षा र डिजिटल सिकाइमा निकै रुचि छ, तर नेपालमा व्यवस्थित र प्रमाणित कोर्सहरू नहुँदा मैले धेरै कुराहरू आफैं सिक्नुपर्छ। राम्रो तालिम र अवसर पायौं भने हामी जस्ता युवाहरूले आफूले मन पर्ने कामलाई नै करियर बनाउन सक्छौं,” दीपशिखा चौधरीले भनिन्।

दीपशिखा यस डकुमेन्ट्रीमा देखाइएका तीन युवाहरूमध्ये एक हुन्।
“नेपाल भरिका युवाहरूले अहिले सोधिरहेका छन्—हामीले सिकेको कुरा भविष्यमा साँच्चै काम लाग्छ कि लाग्दैन?” युनिसेफ नेपालकी प्रतिनिधि श्री एलिस अकुंगाले भन्नुभयो। “यो पहल त्यही प्रश्नहरू सुन्ने र साथसाथै सिकाइ र रोजगारीबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्नेबारे हो, ताकि युवाहरूले आफ्ना सीप र चाहनालाई वास्तविक अवसरमा बदल्न सकून्।”
आज काठमाडौंमा भएको KIMFF मा डकुमेन्ट्री प्रदर्शन पछि, यो सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा जुन २ देखि ९ सम्म प्रदर्शन गरिनेछ। ती प्रदेशहरूमा हुने छलफलहरू स्थानीय शिक्षा प्राथमिकता र श्रम बजारको अवस्थामा केन्द्रित हुनेछन्, जहाँ प्रदेश र स्थानीय सरकार, शिक्षकहरू, युवाहरू र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
राष्ट्रिय र प्रदेश स्तरमा भएका छलफलबाट आएका सुझावहरूलाई एक ठाउँमा राखेर सिफारिसहरू तयार गरिनेछ। यी सिफारिसहरूले सरकार, निजी क्षेत्र, विकास साझेदार र शिक्षा क्षेत्रले सिकाइबाट कमाइतर्फ जाने बाटो कसरी बलियो बनाउन सक्छन् भन्ने व्यावहारिक उपायहरू प्रस्तुत गर्नेछन्।
देशभरी डकुमेन्ट्री देखाउनुका साथसाथै “आशा: ड्रीम्स इन मोशन” एउटा संवाद प्लेटफर्म पनि हो। यसले शिक्षा र रोजगारीबीच बढ्दो दूरीबारे सबैलाई सँगै बसेर सोच्न र शिक्षा प्रणालीलाई श्रम बजारको आवश्यकताअनुसार कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल गराउँछ।
“आजको शिक्षा केवल पहुँचमा सीमित छैन; युवाहरूले विद्यालय छोड्दा उनीहरूसँग सीप, आत्मविश्वास र बदलिँदो संसारमा अघि बढ्न सक्ने क्षमता हुनु जरुरी छ। डिजिटल प्रविधि, हरित अर्थतन्त्र, उद्यमशीलता, पर्यटन, कृषि र सिर्जनात्मक क्षेत्रहरूले अवसरहरू बदल्दै जाँदा शिक्षा, सीप विकास र रोजगारीबीचको सम्बन्ध बलियो बनाउन झन् आवश्यक भएको छ,” युरोपेली संघको नेपालस्थित प्रतिनिधि मण्डलकी शिक्षा फोकल प्वाइन्ट आनुक भान नेकले भन्नुभयो।
यो पहल नेपालमा अझ मजबुत, समावेशी र समान शिक्षा प्रणाली निर्माण गर्ने युरोपेली संघ र युनिसेफको साझा प्रतिबद्धता हो। यसले सिकाइको नतिजा सुधार गर्ने र सबै युवाहरूलाई समान अवसर दिने राष्ट्रिय प्रयासलाई समर्थन गर्छ।
यो नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजना (SESP) सँग पनि मिल्छ, जसको उद्देश्य सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्नु र सिकाइको स्तर सुधार गर्नु हो। यस अन्तर्गत युनिसेफ र युरोपेली संघले शिक्षा प्रणालीलाई युवाहरूलाई कामका लागि चाहिने सीपसँग जोड्ने तथा सिकाइबाट कमाइतर्फ जाने बाटोलाई बलियो बनाउने कामलाई सहयोग गरिरहेका छन्।
