आम्दानी, साख, स्वलगानी, धितो र कर्जाका सर्तका आधारमा मूल्यांकन, भुक्तानी क्षमताभन्दा बढी ऋण नलिन आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि आफ्नो भुक्तानी क्षमता, कर्जाको लागत र जोखिम विश्लेषण गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा अपनाउनुपर्ने प्रक्रिया, ऋणीको मूल्यांकनका आधार तथा अधिकार र दायित्वबारे जानकारी दिँदै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी सन्देशमा कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले पाँच ‘सी’ का आधारमा ऋणीको मूल्यांकन गर्ने जनाएको छ । यसमा नगद प्रवाह, स्वपुँजी, चरित्र तथा विगतको वित्तीय इतिहास, धितो र कर्जाका सर्त समावेश छन् ।
नगद प्रवाहले ऋणीको आम्दानी र कर्जा तिर्न सक्ने क्षमता देखाउँछ भने स्वपुँजीले आफ्नै लगानीको अवस्था जनाउँछ । त्यसैगरी, ऋणीको विगतको वित्तीय व्यवहार, धितोको उपलब्धता तथा कर्जासम्बन्धी सर्त पनि मूल्यांकनका महत्त्वपूर्ण आधार हुन् ।
राष्ट्र बैंकका अनुसार कर्जा लिने प्रक्रिया आवेदनबाट सुरु हुन्छ । आवेदकले बैंक तथा वित्तीय संस्थाले तोकेको ढाँचामा आवेदन दिनुका साथै पहिचान खुल्ने कागजात, सम्पत्ति तथा दायित्वको विवरण, आम्दानीको प्रमाण र धितोसम्बन्धी कागजात बुझाउनुपर्छ ।
त्यसपछि बैंक तथा वित्तीय संस्थाले ऋणीको भुक्तानी क्षमता, स्वलगानी, साख र धितोको मूल्यांकन गर्छन् । मूल्यांकन सन्तोषजनक भएमा कर्जा स्वीकृत गरिन्छ । स्वीकृतिपत्रमा कर्जाको रकम, ब्याजदर, भुक्तानी अवधि र अन्य सर्त उल्लेख हुन्छन् । आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि कर्जा प्रवाह गरिन्छ ।
कर्जा प्रवाहपछि बैंक तथा वित्तीय संस्थाले त्यसको सदुपयोग र भुक्तानी अवस्थाको अनुगमन गर्छन् । ऋणीले पनि सम्झौताअनुसार साँवा र ब्याज समयमै तिर्नुपर्ने हुन्छ ।
राष्ट्र बैंकले ऋणीलाई कर्जासम्बन्धी पर्याप्त सूचना प्राप्त गर्ने, निष्पक्ष व्यवहार पाउने, वित्तीय विवरणको गोपनीयता कायम हुने र गुनासो सुनुवाइको अवसर प्राप्त गर्ने अधिकार रहेको जनाएको छ । ऋणीले भने बैंकलाई सही सूचना दिने, कर्जाका सर्त अध्ययन गर्ने र स्वीकृत प्रयोजनअनुसार रकम उपयोग गर्नुपर्ने हुन्छ ।
कर्जाको ब्याजदर, शुल्क, किस्ता र भुक्तानी अवधि नबुझी ऋण लिँदा आर्थिक समस्या उत्पन्न हुन सक्ने भएकाले ऋणीले आफ्नो आम्दानी र भुक्तानी क्षमताको यथार्थ मूल्यांकन गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सेवासम्बन्धी गुनासो राष्ट्र बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np मार्फत दर्ता गर्न सकिन्छ ।




