सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको छ : नेता ज्ञवाली

Headlines राजनीति

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन आश्रित स्मृति दिवस तथा ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको बताएका हुन् ।

उनले नयाँ सरकार गठन भएको ५० दिन नपुग्दै सरकारले गरेका निर्णय र प्रस्तुत शैलीले आगामी दिनको राजनीतिक दिशा स्पष्ट देखाइसकेको टिप्पणी गरे । ‘दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बादलले देखाइसकेको हुन्छ,’ भन्दै उनले सरकार लोकतान्त्रिक अभ्यासभन्दा नियन्त्रणमुखी शैलीतर्फ उन्मुख भएको आरोप लगाए ।

ज्ञवालीले ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने प्रयास भइरहेको दाबी गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको बताए । उनले श्रमिक, विद्यार्थी र निम्न वर्गका नागरिकका अधिकार क्रमशः संकुचित गरिँदै गएको उल्लेख गरे ।

ज्ञवालीले संसद, राष्ट्रपति र न्यायालयजस्ता संवैधानिक तथा निर्वाचित संस्थाहरूको भूमिका कमजोर पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए । उनका अनुसार लोकतन्त्र संस्थागत रूपमा कमजोर बनाइए मुलुक निर्वाचित अधिनायकवादतर्फ जान सक्ने खतरा बढ्नेछ ।

उनले भने, ‘ट्रेड युनियन, स्ववियुहरु खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शाषन गर्ने दुष्प्रयास, सुकुम्बासीमाथि डोजर आतंक, श्रमजीवी वर्गहरुलाई दिएका सामाजिक सुरक्षाका कुराहरुलाई क्रमश कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्था, संसद, राष्ट्रपति न्यायलय जस्ताहरुको अवमूल्यनमार्फत एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको छ ।’

उनले वर्तमान परिस्थितिमा बलियो लोकतान्त्रिक प्रतिपक्षको आवश्यकता रहेको उल्लेख गर्दै संसदभित्र संख्यात्मक रूपमा कमजोर भएपनि जनताको साथ र विभिन्न सामाजिक तथा राजनीतिक संस्थाहरूको सहयोगबाट लोकतान्त्रिक मूल्यको रक्षा गर्न सकिने बताए ।

उनले लोकतन्त्र, संविधान र सामाजिक न्यायको रक्षाका लागि अहिलेको समय चुनौतीपूर्ण रहेको उल्लेख गरे । ‘यति दुःख गरेर लामो समयको संघर्षबाट प्राप्त गरेको लोकतन्त्रकको उपलब्धीलाई गुम्न नदिन, संविधानको रक्षा गर्न र सामाजिक न्यायसहितको बाटो तर्जूमा गर्न समयले हामीलाई कठिन अग्निपरीक्षाको लागि उभ्याएको छ,’ उनले भने ।

उनले मदन आश्रित स्मृति प्रतिष्ठानको भूमिका केवल सहयोगी र सहकार्यकारी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनलाई समाजका विभिन्न तहबाट सशक्त बनाउनुपर्ने धारणा राखे ।

उनले युवाहरूलाई लोकतन्त्र, सामाजिक न्याय र जनताको अधिकारको पक्षमा सक्रिय हुन आग्रह गर्दै वर्तमान चुनौतीको सामना गर्न राजनीतिक चेतना र संगठित प्रयास आवश्यक रहेको बताए ।