सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आवश्यकता र सरकारको योजनामा सहयोग पुग्नेगरी कार्यक्रम बनाउन बिकास साझेदारलाई आग्रह गरेका छन् ।
प्रदेश सरकार आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटिरहेका बेला मुख्यमन्त्री कँडेलले सरकारको प्राथमिकता अनुसार परियोजना सञ्चालन गर्न आग्रह गरेका हुन् ।
बिकास साझेदारसंगको समन्वय बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी, अभावलगायतका क्षेत्रमा काम गर्न सुझाव दिए ।

कर्णालीको अवस्थामा सुधार ल्याउनेगरी सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार प्रतिफल दिने गरी परियोजना सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गरे ।
‘परियोजनामा दोहोरपन नगरी नमूनायोग्य काम गरौं’ उनले भने, ‘धेरै योजना बनाएर अलपत्र पार्ने तथा प्रतिफल नदेखिने योजना हामी कसैले नबनाऔं ।’ बिकास
साझेदारहरुसंग सरकारले सहकार्य गरी काम गर्ने वातावरणका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमनत्रीले बताए ।
कर्णालीमा सञ्चालित परियोजनाले कर्णालीको सूचकांकहरु बदल्नु पर्नेमा मुख्यमन्त्रीको जोड छ ।
‘बिकास साँझेदारहरुले कर्णालीको बिकास सुचकांकमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्छ’ उनले भने, ‘बजेट छर्ने र योजनामा दोहोरोपन हुँदा नतिजा देखिँदैन ।’
प्रदेशको आवश्यकता र प्रदेश सरकारको योजनालाई बल पुग्ने गरी सहयोग गर्न मन्त्रीमनत्रीले बिकास साझेदारलाई आग्रह गरे ।
कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीमा कार्यरत विकास साझेदार संस्थाले प्रदेश सरकारसँग समन्वय गरेर एकीकृत योजना बनाउनुपर्ने आवश्यकता औल्याए ।
‘दुई दर्जनभन्दा बढी विकास साझेदारले कर्णालीको विभिन्न क्षेत्रमा काम गरिरहनु भएको छ’ उनले भने, ‘कार्यक्रम अनुसार कर्णालीको अवस्थामा पनि सुधार देखिनु पर्छ ।’
विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, विश्व खाद्य कार्यक्रम, जिआइजेड, हेल्भेटास, युनिसेफ, युएनडिपी, युएन वुमन, युएनएफपिए, वल्र्ड भिजन नेपाल, प्लान नेपाल, सुस्वा, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम, आइएनफ नेपाल, केयर नेपाललगायतका विकास साझेदार संस्थाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कर्णालीमा काम गर्दा आइपरेका चुनौतीका बिषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । यस अघि मुख्यमन्त्रीले कर्णालीका स्थानीय सरकार प्रमूखहरुसंग पनि छलफल गरेका थिए ।
