एफएनसीसीआईमा अञ्जन श्रेष्ठको ‘६ स्तम्भ, ६० पहल’ एजेन्डा सार्वजनिक, निजी क्षेत्र सुधारदेखि डिजिटल रूपान्तरणसम्मका कार्यक्रम अघि बढाइने

Headlines आर्थिक

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१ औँ अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकालमा निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखी रणनीतिक कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

महासंघले अध्यक्ष श्रेष्ठको पदबहालीसँगै “६ स्तम्भ, ६० पहल” नामक विस्तृत कार्ययोजना कार्यान्वयनमा ल्याउने भएको छ। उक्त कार्यक्रममार्फत निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीति पैरवी, डिजिटल रूपान्तरण तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।

महासंघका अनुसार कार्यक्रमले सेवा प्रवाहको आधुनिकीकरण, सदस्य संस्थासँगको समन्वय सुदृढीकरण, युवा उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा आर्थिक कूटनीति सुदृढीकरणलाई समेत समेटेको छ।

कार्ययोजनाअनुसार महासंघले सेवा सुदृढीकरण, आर्थिक सुधार र सुशासन, प्रतिस्पर्धात्मकता वृद्धि, विकास सहयोग, श्रम–सीप सुधार तथा निजी क्षेत्र प्रवर्द्धन र संरक्षण गरी छ वटा मुख्य स्तम्भमार्फत ६० वटा पहल कार्यान्वयन गर्नेछ।

ती पहलअन्तर्गत डिजिटल सदस्यता प्रणाली, नीति अनुसन्धान शाखा, लगानी सम्मेलन, स्किल एकेडेमी, वैकल्पिक वित्तीय रणनीति, व्यापार सहजीकरण, स्टार्टअप प्रवर्द्धन, व्यावसायिक मध्यस्थता प्रणाली तथा “Ease of Doing Business” सुधारजस्ता कार्यक्रम समावेश छन्।

महासंघले यो कार्ययोजना समयसीमा, जिम्मेवारी र उपलब्धिसहित चरणबद्ध रूपमा लागू गरिने जनाएको छ। यसलाई निजी क्षेत्रको साझा आवाजलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।