नेदरल्याण्डसका यूट्रेच्ड युनिभर्सिटका वैज्ञानिकहरुले एउटा एन्टीबडीको खोज गरेका छन्, जसले कोरोना भाइरसको संक्रमण रोक्ने दाबि गरिएको छ ।
४७डि११ नाम दिइएको एन्टीबडीले कोरोना भाइरसको स्पाइक प्रोटिन ब्लक गर्ने दाबि गरिएको छ । कोरोनामा हुने स्पाइक प्रोटिनले कोशीकालाई जोडेर शरीरमा संक्रमण फैलिने अहिलेसम्मको अनुसन्धानले देखाएकाले नेदरल्याण्डसका वैज्ञानिकले कोरोना संक्रमण भएपछि स्पाइक प्रोटिनबाट निर्माण हुने कोशीकाबन्नै नदिन ब्लक गर्ने एन्टीबडी बनाएको दाबि गरेका छन् ।
यो अनुसन्धान उनीहरुले मुसामा गरेका हुन् । उनीहरुले मुसामा रहेका कोशीकालाई यस एन्टीबडीले ब्लक गरेको र त्यसको असर खतम गरेको बताएका छन् । साथै यो एन्टीबडीले कोरोना भाइरसलाई मानव शरीरमा पुग्न मद्धत गर्ने एसीइ२ एन्जाइमलाई रोक्ने बताइएको छ । उनीहरुले यो एन्टीबडी कोरोनासंक्रमितको उपचारमा विशेष सहयोगी हुने दाबि गरेका छन् ।

नेदरल्याण्डसका अनुसन्धानकर्ताहरुले अलग अलग कोरोना भाइरसको स्पाइक प्रोटिनलाई मुसाको कोशीकामा इन्जेक्ट गरेका थिए । यी भाइरसहरुमा सार्स, मर्स र कोरोना जस्ता भाइरस समावेश थिए । जसमा विभिन्न ५१ किसिमका एन्टीबडीको प्रयोग गरिएको भएपनि कोरोना विरुद्ध प्रयोग गरिएको ४७डि११ नामक एन्टीबडी कोरोनाविरुद्ध लड्न सफल भएको बताइएको छ ।
अनुसन्धानकर्ताहरुले मानव शरीरमा समेत यो एन्टीबडीले भाइरसको संक्रमण रोक्न सक्ने दाबि गरेका छन् । साथै उनीहरुले संक्रमित व्यक्तिमा यो एन्टीबडी दिनाले त्यो व्यक्तिबाट अन्य व्यक्तिमा यो कोरोना नसर्ने समेत दाबि गरेका छन् । अनुसन्धानकर्ता प्रोफेशर बर्नड जेन बाशले यो एन्टीबडी दुवै किसिमका कोरोना भाइरसको संक्रमण रोक्न सफल भएको बताएका छन् ।
