कोरोना संक्रमण पुष्टि भई विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना निको भएका छन् ।
उनीहरुलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनु भयो । ‘दोस्रो पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो,’ सुवेदीले जानकारी दिनुभयो ।
उनीहरुलाई उदयपुरको भुल्केमा संक्रमित परीक्षण गर्दा संक्रमित भएको पाइएपछि उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । सोहि अस्पतालबाट बुधबार अरु ६ जना निको भई डिस्चार्ज भएका थिए ।

हाल कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन्। शुक्रबार ८ जना डिस्चार्ज भएपछि १७ जना बाँकी रहने छन्, सुवेदीले बताए। उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ पुगेको थियो ।
उहाँक अनुसार प्रदेश १ मा पीसीआर बिधिबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । देशभर संक्रमितको संख्या ९९ पुगेको छ । तीमध्ये ३० जना निको भएकोमा तीनजनामा पुनः संक्रमण देखिएपछि अस्पतालमा फेरि उपचार जारी छ ।
