काठमाडौं । हिजो (बिहीबार) त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको शुक्रबार बिहान ११ः२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।
उनले भने,‘उहाँको निधन भएको डाक्टरहरुले जानकारी गराएका छन् । बिहान ११ः२० बजेतिर उनको निधन भएको हो ।’

राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।
वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए ।
नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए ।
शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।
