फेसबुकमा कुनैपनि प्रयोगकर्ताले राख्ने रेकर्डेड भिडियो तथा लाइभ प्रस्तुतिको भिडियो हेर्नका लागि अहिलेसम्म शुल्क तिर्नु पर्दैन । तर, अब निकट भविष्यमै फेसबुक लाइभको भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागु हुँदैछ । भिडियो हेर्नका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने नियम कम्पनीले छिटै नै लागु गर्ने तयारी गरिरहेको छ ।
कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिने कलाकारहरूको सहयोगका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो । लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने नियम लागु भइसकेपछि फेसबुक लाइभमा आउने कलाकारहरूले अर्थोपार्जन गर्न सक्नेछन् ।
लाइभ भिडियोमा शुल्कको व्यवस्था लागु गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ । जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरूलाई नि:शुल्क रुपमा देखाउने कि स:शुल्क बनाउने भन्ने विकल्प रोज्न सक्नेछन् ।

आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरूले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।
लकडाउनका कारण घरमै बस्न बाध्य कलाकारहरूले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएर आर्थिक लाभसमेत प्राप्त गर्न सकून् भन्नका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको बताइएको छ। संगीतकार तथा गायक गायिकाहरू, कमेडियन, व्यायाम सिकाउनेहरूका साथै भाषण वा उद्घोषणका क्षेत्रमा संलग्न व्यक्तिहरू यस नियमबाट लाभान्वित हुनेछन् ।
फेसबुकको यो नयाँ फिचरमार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफूले आर्थिक लाभ लिने नभई कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन् । यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा डोनेट बटन थप गर्न सक्नेछन् ।
डोनेट बटनमार्फत् संकलित शतप्रतिशत रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरूको खातामा जम्मा गरिदिने छ।
फेसबुकले लाइभ भिडियो हेर्न शुल्क तिर्नुपर्ने नियम आगामी केही हप्ताबाटै लागु गर्नसक्ने बताइएको छ । यद्यपि उसले यो नयाँ फिचर सुरु हुने मितिचाहिँ तोकेको छैन ।
स्मरणरहोस्: फेसबुकले आफ्नो गेमिंग सर्भिसका लागि सन् २०१८ मै यस्तो शुल्क तिर्नुपर्ने फिचर ल्याएको थियो ।
भिडियो गेम खेलाडीहरूका लागि विशेष रुपमा तयार गरिएको उक्त स्ट्रिमिङ प्लाटर्फममा फेसबुक प्रयोगकर्ताले कुनै पनि भिडियो खेलाडीको स्ट्रिममा रकम दान गर्न सक्दछन् ।
एजेन्सी
