उत्पादनमूलक उद्योगका लागि सुपारी, केराउ र मरिच आयात खुला, आवेदन आह्वान

आर्थिक

काठमाडौं । उद्योग विभागले सुपारी, केराउ र मरिच आयातका लागि उत्पादनमूलक उद्योगहरूबाट आवेदन आह्वान गरेको छ । इच्छुक उद्योगहरूले चालु आर्थिक वर्षभित्र औद्योगिक प्रयोजनका लागि मात्र ती वस्तु आयात गर्न पाउनेछन् ।

सरकारले पुस २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगका लागि सुपारी, केराउ र मरिच आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । सोही निर्णयअनुसार आयात प्रक्रिया अघि बढाइएको हो ।

उद्योग विभागका अनुसार औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यक परिमाण, आयातको औचित्य तथा आयातित मालवस्तु केवल औद्योगिक प्रयोजनमै प्रयोग भएको सुनिश्चित हुने गरी सम्बन्धित उद्योगहरूले आवेदन दिनुपर्नेछ । विभागले आवश्यक परिमाण निर्धारण गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

राजपत्र अनुसार, केराउ (एच.एस.कोड ०७१३.१०.१०), सुपारी (०८०२.८०.००), सेतो मरिच (०९०४.११.२०) र कालो मरिच (०९०४.११.३०) केवल उत्पादनमूलक उद्योगका लागि आयात गर्न अनुमति दिइनेछ। नयाँ उद्योगका लागि उद्योग दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर/स्थायी लेखा नम्बर, उत्पादन क्षमता, वार्षिक स्वीकृत योजना, चालु आर्थिक वर्षको सञ्चालन विवरण र उत्पादन लक्ष्यको स्वघोषणा आवश्यक पर्छ। सञ्चालनमा रहेका उद्योगको लागि उद्योग दर्ता प्रमाणपत्र, कम्पनी अद्यावधिक पत्र, करचुक्ता प्रमाणपत्र, उत्पादन क्षमता, अघिल्लो वर्षको कच्चा पदार्थको प्रयोग विवरण आदि पेश गर्नुपर्नेछ।

नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (२) अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सुपारी, केराउ र मरिच आयात अनुमति दिएको हो। यसअघि २०७८ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘सुपारी, केराउ, मरिच पैठारी व्यवस्थापन कार्यविधि, २०७८’ बनाएर औद्योगिक प्रयोजनका लागि आयातको बाटो खोलेको थियो।

यसअघि, २०७७ चैतमा वाणिज्य विभागले व्यापारिक प्रयोजनका लागि परिमाण तोकेर सुपारी, केराउ र मरिच आयात खुला गरेको थियो।