निक्षेप बढ्यो, कर्जा विस्तार सुस्त: सीडी रेसियो ७३.७६% मा झर्दा बैंकिङ क्षेत्रमा तरलता प्रशस्त

बैंक/वित्त

वाणिज्य बैंकहरूमा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि कर्जा विस्तार भने अपेक्षाकृत सुस्त देखिएको छ । पुस मसान्तसम्म २० वाणिज्य बैंकमा निक्षेप ४ खर्ब १३ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह मात्र १ खर्ब ८२ अर्ब रुपैयाँले विस्तार भएको छ । यसका कारण बैंकहरूको औसत सीडी रेसियो घटेर ७३.७६ प्रतिशतमा झरेको छ, जसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गरेको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार पुस मसान्तसम्म २० वाणिज्य बैंकमा कुल ६९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ भने यसअवधिमा ५१ खर्ब ५७ अर्ब कुल कर्जा प्रवाह भएको छ । गत असारसम्म वाणिज्य बैंकहरुले कुल ६५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४९ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा बैंकहरुको औसत सीडी रेसियो घटेर ७३.७६ प्रतिशतमा झरेको छ । जसले बजारमा पर्याप्त लगानीयोग्य रकम रहेको संकेत गर्र्छ। ब्याजदर ऐतिहासिक रुपमा तल झरेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा विस्तार हुन नसक्नुको मुख्य कारण राजनीतिक अनिश्चितता र निजी क्षेत्रको कमजोर मनोबल रहेको बैंकर्सहरुको विश्लेषण छ ।

तर, पुस महिनामा भने कर्जा प्रवाहमा उल्लेखीय सुधार देखिएको छ । पुस महिनामा ५३ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा निक्षेप संकलन भने ३९ अर्ब ६३ करोड थपिएको छ। तर योसुधारले समग्र ६ महिनाको सुस्त प्रवृत्ति उल्ट्याउन भने सकेको छैन। यद्यपी यसले बैंकिङ क्षेत्रमा आशाको संचार भने जगाएको छ ।

बैंकरहरुका अनुसार उपभोग बढ्न थालेसँगै कर्जाको माग पनि विस्तार हुँदै गएको छ । घट्दो ब्याजदरका कारण उपभोगमुखी कर्जामा आकर्षण बढेको उनीहरुको भनाइ छ । ब्याजदर निकै तल आइसकेकाले अब कर्जा विस्तार क्रमशः बढ्दै जानेमा बैंकरहरु आशावादी देखिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समय पूर्वाधार र उपभोग दुवै क्षेत्रमा कर्जाको माग बढ्न थालेको छ । सेयर कर्जा, गोल्ड लोन, अटो लोन र सानो भोलुमको घरजग्गा र आयात कर्जाको माग पनि क्रमशः बढ्दै गएको उनीहरुले बताएका छन्।

कर्जा प्रवाहमा भने नबिल बैंकले २५ अर्ब ४० करोडको वृद्धि गर्दै आफूलाई अब्बल साबित गरेको छ । ग्लोबलआईएमइको पनि सोही हाराहारी विस्तार भएको छ ।यस बीचमा केही बैंकहरुको कर्जा प्रवाह भने संकुचित भएको देखिएको छ । विशेषगरी एनआइसी एशिया बैंकको कर्जा प्रवाह १५ अर्ब ५६ करोडले घटेको छ भने स्ट्याण्डर्ड चार्टर्ड र कृषि विकास बैंकको कर्जा लगानीमा पनि गिरावट आएको छ ।