काठमाडौं, वैशाख १७ः सरकारले रोजगार अनुमति प्रणाली इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केकालाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै बिदामा नेपालमा रहेर स्वेच्छाले काममा फर्कीन चाहनेलाई विभाग अन्तर्गतको इपिएस कोरियामा शाखामा सम्पर्क गर्न आग्रह गरेको हो ।
मन्त्रिपरिषद्को हालैको बैठकले वैध प्रवेशाज्ञा भई हाल बिदामा नेपालमा रहेका कामदारलाई स्वास्थ्य परीक्षण गराई उनीहरुकै खर्चमा चार्टर्ड उडानमार्फत जान स्वीकृति दिने निर्णय गरेको थियो । कोरोना महामारीअघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमै बस्नु परेको छ ।

करीब २५० कामदार बिदामा नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी गरिएको छ । पहिलो चरणमा भोली चार्टर्ड फ्लाइट गर्ने तयारी भइरहेको छ । पहिलो उडानमा भिसा सकिन लागेकालाई प्राथमिकता दिई उडाइने छ ।
दक्षिण कोरिया फर्कनेले टिकटबापत एक लाख १३ हजार ७७५ रुपैयाँ आज अपराह्न २ बजेभित्र बुझाउन गैरआवासीय नेपाली संघले आग्रह गरेको छ । कोरिया फर्कनेहरु अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ । वाइडबडी जहाज कोरिया पठाउन निगमसँग आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।-
