कोरोना उपचारमा खटिएकी अमेरिकी चिकित्सकद्धारा आत्महत्या

विविध

अमेरिकामा कोरोना भाइरसको उपचार गरिरहेकी एक चिकित्सकले आत्महत्या गरेकी छिन् । प्रहरीले आइतबार ति चिकित्सकलाई मृत अवस्थामा भेटेका थिए । डा. लोर्ना ब्रीन, म्यानह्याटनको न्युयोर्क प्रेसबीटेरियन एलन अस्पतालको इमरजेन्सीमा कार्यरत थिइन् । उनका बुवा डा. फिलिप ब्रीनले डा. लोर्ना मानसिक बिरामी नभएको बताएका छन् ।उनका अनुसार लोर्ना कोरोना उपचारका क्रममा स्वयं कोरोना संक्रमित भएकी थिइन् । करिब डेढ साताको उपचारपछि उनी पुन : अस्पताल काममा फर्केकी थिइन् । तर अस्पतालले लोर्नालाई फेरी घर फर्काएको थियो । फिलिप भन्छन्,’लोर्नाले काम गर्ने कोशिष गरेकी थिइन् र त्यसैले उनको ज्यान लियो ।’

८ वर्षे लोर्ना अन्तिम पटक आफ्ना बुवासँग कुरा गर्ने क्रममा केहि अलग सुनिएकी थिइन् । उनले कोरोना संक्रमितको अस्पतालमा पुग्नु अगावै एम्बुलेन्समा नै मृत्यु भइरहेको बारेमा कुरा गरेकी थिइन् ।उनी अंग्रपक्तिमा खटिदाँ विचलित भएको उनका बुवाले बताएका छन् ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार डा. लोर्ना आफ्नो परिवारसँग निकट थिइन् । उनी स्कींग र साल्सा नृत्यको पारखी थिइन् ।उनी हरेक साता वृद्धाश्रम पनि जाने गर्थिन् ।

लोर्नालाई मृत्यु पश्चात कोरोना भाइरसका बिरामीको उपचारकालागि फ्रन्टलाईनमा खटिएको हिरो भन्दै सम्मानित गरिएको छ । विश्वभर नै कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमा हाल मानसिक तथा शारिरिक असर परेको छ ।

अमेरिकाका १० लाख कोभिड १९ का संक्रमित मध्ये एक तिहाई संक्रमित न्युयोर्कका रहेका छन् ।बीबीसीका अनुसार न्युयोर्क शहरको एक चौथाई अर्थात २४.७ प्रतिशत जनसंख्यामा कोरोना भाइरसको संक्रमण पाइएको छ । न्युयोर्कको जनसंख्या करिब ८० लाख रहेको छ ।