पासपोर्ट खरिद प्रकरण: १० अर्बभन्दा बढी बिगो दाबीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Headlines समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी लगायतलाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानी ले जानकारी दिइन्।

उनका अनुसार अख्तियारले १० जना सरकारी कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक तथा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाएको हो।

राहदानी छपाइसम्बन्धी खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा लाई समेत अख्तियारले बयानका लागि बोलाएको थियो। तर, अभियोजनका क्रममा भने उनलाई प्रतिवादी नबनाइएको स्रोतले जनाएको छ।

पासपोर्ट खरिद प्रकरण अब नेपालको सार्वजनिक खरिद प्रणाली, सरकारी निर्णय प्रक्रिया र उच्च तहको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने मुद्दाका रूपमा अगाडि आएको आएको छ।