कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ : शंकर तिवारी

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम विश्लेषक शंकर तिवारीले पार्टीको नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भएको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले कांग्रेस केन्द्रले तत्काल विशेष महाधिवेशनका लागि मार्ग प्रशस्त गर्न आग्रह पनि गरेका छन् । पुस ११ सम्मका गतिविधि हेर्दा नियमित महाधिवेशन हुने कुनै लक्षण वा गुञ्जायस नदेखिएको उल्लेख गर्दै उनले पार्टी प्रवक्ताले तोकिएको अवधिमा नियमित अधिवेशन हुन नसक्ने भनेर प्रष्ट संकेत गरेको जनाए ।

पार्टीको यस्तो ढिलोढाला प्रवृत्ति पार्टीभित्र परिवर्तनको लागि आवाज मुखरित गरेका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूका प्रति गरिएको अपमान हो। विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका पार्टीका स्वाभिमानी कार्यकर्ताहरूले पार्टीको अकर्मण्य चरित्र र पार्टीलाई यथास्थितिमा राख्ने प्रपञ्च टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ उनले अगाडि लेखेका छन्,‘ नियमित अधिवेशनको कार्यतालिका बदनियतपूर्वक विशेष महाधिवेशनको आवाजलाई दबाउनका लागि रचिएको तीकडम छलछाम भन्दा ज्यादा केही रहेनछ ।

‘रकेट गति’को भनिएको महाधिवेशनको कार्य तालिकालाई विश्वास गर्नु कार्यकर्ताहरूले गरेको महाभूल थियो । अब त्यो भूलभुलैयाबाट बाहिर निस्केर कार्यकर्ताहरूले, विशेषगरी विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका कार्यकर्ताहरू केन्द्रीय कार्यालय घेर्न काठमाडौं आउनुपर्छ। निर्वाचनभन्दा अगाडि पार्टीलाई बदल्ने र भाद्र २३ र २४ घटनापछि पार्टीले पाठ सिकेको छ, पार्टी बदलिएको छ भन्ने सन्देश चरितार्थ गर्नका लागि कांग्रेस कार्यकर्ताहरु सामु त्योभन्दा अर्को विकल्प छैन ।’

त्यस्तै उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका साथीरूलाइ कसका कारणले क्रियाशील सदस्यताको समयमा निरूपण भएन भन्ने परस्पर दोषारोपणमा दिलचस्पी नभएको औंल्याएका छन् । ‘पार्टीको गतिरोध निकासका लागि सिङ्गो कार्यसमिति बाधक छ । कार्यकर्ता र आम मानिसहरूले पार्टी केन्द्रीय कार्यसमिति भित्रका कसको के नियत छ भन्ने प्रष्ट देखेका छन् । भाद्र २३ र २४ को उथलपुथलले दिएको आघातलाइ उपेक्षा गर्दै पार्टीलाई यथास्थितिमा राख्ने बहानाबाजी स्वीकार्य छैन,’ उनले भनेका छन् ।