‘काव्य साँझ: कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा. नवराज लम्साल 

समाचार

काठमाडौँ । महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझ : कल्प’ सम्पन्न भएको छ ।

ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।

कल्प महाकाव्य प्रकृति संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए ।

लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शक दीर्घा निकै रोमाञ्चित भएको थियो।

यसरी बाँसुरीसहित महाकाव्य लिएर डाक्टर लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन् । आफैँ पनि लामो समय रेडियो प्रसारणमामा बिताएका लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेशा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

डा. लम्साल नेपाली साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन्। उनका चार महाकाव्य सहित १० पुस्तक प्रकाशित छन्।