काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर) अवधिमा सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो संकलन वार्षिक लक्ष्यको २७.४५ प्रतिशत मात्र हो । सरकारले चालु आर्थिक वर्षका लागि राजस्वमार्फत कुल १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य तय गरेको छ ।
पाँच महिनामा सरकारले गरेको राजस्व संकलन मंसिरसम्मको लक्ष्यको तुलनामा ७८.८४ प्रतिशत प्राप्ति भएको अर्थ मन्त्रालयले जनाएको छ । मंसिरसम्म सरकारले ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो ।

मंसिरको लक्ष्यको तुलनामा पनि सो अवधिमा संकलन भएको राजस्व कम हो । सरकारले मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८० अर्ब २७ करोड प्राप्ति गरेको मन्त्रालयले जनाएको छ । गएको पाँच महिनामा संकलन भएको राजस्वमध्ये मंसिर २९ गते मात्र ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो । जसमा मंसिरसम्म ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये मंसिर २९ सम्मको संकलन ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । गत वर्षको मंसिरमा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
