काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले मृत्यु दण्डको सजाय सुनाएको छ । बीबीसीका अनुसार सोमबार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले यो फैसला सुनाएको हो ।
गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलन चर्कँदा हसिनाले घातक दमनकारी कारबाहीको आदेश दिएको आरोप लागेको थियो । मुद्दासम्बन्धी बहस महिनौँसम्म चलेपछि अन्ततः सोमबार फैसला भएको हो ।
न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा बसेको आईसीटी इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई प्रदर्शन दमन, आन्दोलनकारीको पहिचानका लागि ड्रोन प्रयोग तथा आन्दोलनस्थलमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएको प्रमाणित भएको ठहर गरेको छ ।

पूर्व प्रधानमन्त्री शेख हसिना भारतमा निर्वासनमा रहेकी छन ।
