बाल र युवाको आवाजलाई COP30 मा लैजाने प्रतिबद्धतासहित युनिसेफको क्लाइमेट सिनेमा अभियान सम्पन्न

जलवायु परिवर्तन

युनिसेफको ‘क्लाइमेट सिनेमाः जलवायु कार्यको अग्रपंक्तिमा बालबालिका’ अभियान आज एक सशक्त कार्य आह्वानसहित सम्पन्न भएको छ: जलवायु समाधानको केन्द्रमा बालबालिकालाई राखिनुपर्छ। यस अभियानले बालबालिका र युवाहरूलाई कथा र चलचित्रमार्फत जलवायु परिवर्तनका अनुभवहरू बाँड्ने एक मञ्च प्रदान गरेको थियो।

पछिल्ला दुई हप्तामा, यो क्लाइमेट सिनेमा पहलले नेपालका विभिन्न स्थानको भ्रमण गर्‍यो— सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका, कर्णालीको पञ्चपुरी नगरपालिका, लुम्बिनीको सिद्धार्थनगर नगरपालिका र मधेशको पर्सा गाउँपालिका। अभियानको समापन राजधानीमा युवा जलवायु च्याम्पियनहरूको साहस, रचनात्मकता र नेतृत्वलाई उत्सवको रूपमा मनाएर गरियो।

चलचित्र प्रदर्शन, अन्तरक्रियात्मक छलफल र बालबालिकाको नेतृत्वमा भएका स्थानीय जलवायु कार्यहरूमार्फत, यस अभियानले बाढी, खडेरी र पहिरो जस्ता समस्याका बीच हुर्किरहेका बालबालिकाका जीवन्त अनुभवहरूलाई उजागर गर्‍यो।

बालबालिकाको अनुभव र समाधान

क्लाइमेट सिनेमा अभियानमा सहभागी जयन्ती बम, १५, ले आफ्नो अनुभव सुनाइन्, “गत वर्ष अत्यधिक वर्षाका कारण मेरो विद्यालय करिब एक हप्ता बन्द भएको थियो, जुन पहिले कहिल्यै भएको थिएन। राम्रो शिक्षाको आशामा म कालिकोटको आफ्नो गाउँ छोडेर राजधानी आएँ, तर जलवायु परिवर्तनले मेरो पढ्ने अधिकारमा निरन्तर असर पारिरहेको छ।”

जयन्ती, जो समापन समारोह आयोजित श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको इको क्लबकी अध्यक्ष पनि हुन्, थप्छिन्, “बालबालिका जलवायु परिवर्तनका पीडित मात्र होइनन्— हामीसँग विचार र समाधानहरू छन्। बालबालिकालाई जलवायु समाधानको केन्द्रमा राखिनुपर्छ। हामी परिवर्तनको हिस्सा बन्न तयार छौं, र हामी चाहन्छौं कि निर्णयकर्ताहरूले हाम्रो कुरा सुनून् र हाम्रो भविष्यको रक्षा गर्न हामीसँग काम गरून्।”

COP30 मा नेपालको प्रतिनिधित्व

समापन कार्यक्रममा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै COP30 मा जान लाग्नुभएका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार सहभागी हुनुभयो। उहाँले जयन्ती लगायत देशभरका बालबालिका तथा युवाहरूको आवाज र सिफारिसहरू समेटिएको विशेष प्रतिवेदन ग्रहण गर्नुभयो।

यसैगरी, मन्त्रीज्यूले हालै पावर्सिफ्ट नेपाल, नेपालीज युथ फर क्लाइमेट एक्सन (NYCA) र अन्य युवा नेतृत्वका संस्थाहरूको नेतृत्वमा युनिसेफ, यूएनडीपी र अन्य साझेदारहरूको सहकार्यमा आयोजित प्रादेशिक र राष्ट्रियस्तरको स्थानीय युवा सम्मेलन (LCOY) नेपाल २०२५ मार्फत ५०० भन्दा बढी बालबालिका तथा युवाहरूले तयार पारेको राष्ट्रिय युवा वक्तव्य पनि प्राप्त गर्नुभयो।

माननीय मन्त्री डा. परियारले सरकारले बालबालिका केन्द्रित जलवायु कार्यलाई शिक्षा, स्वास्थ्य, पानी, सरसफाइ र सामाजिक सुरक्षा लगायत सबै क्षेत्रमा एकीकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“नेपालले COP30 को तयारी गर्दा, हामी विश्वव्यापी नेतृत्व प्रदर्शन गर्न तयार छौं—हामी हाम्रा युवाहरूको रचनात्मकता, ऊर्जा र जोश प्रयोग गरेर कसरी परिवर्तनकारी जलवायु कार्यलाई अगाडि बढाउन सक्छौं भनेर देखाउँछौं,” माननीय मन्त्री डा. परियारले भन्नुभयो।

जलवायु परिवर्तन बाल अधिकार सङ्कट

कार्यक्रममा बोल्दै युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाले क्लाइमेट सिनेमा अभियानले नेपालका विभिन्न प्रदेशमा बालबालिकाको कथा र लचिलोपनलाई उजागर गरेको बताउनुभयो।

“जलवायु परिवर्तन केवल वातावरणीय मुद्दा होइन; यो बाल अधिकार सङ्कट हो। यसले बालबालिकाको बाँच्ने, हुर्कने र फस्टाउने अधिकारलाई खतरामा पार्छ— उनीहरूको स्वास्थ्य, शिक्षा, कल्याण र भविष्यका अवसरहरूमा असर पार्छ,” सुश्री अकुङ्गाले भन्नुभयो। उहाँले युनिसेफ नेपाल सरकारसँग हातेमालो गर्दै जलवायु शिक्षालाई प्रवर्द्धन गर्न र जलवायु अनुकूलित सामाजिक सेवाहरूलाई बलियो बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

संघीय, प्रादेशिक र स्थानीय सरकार, विद्यालय र युवा सञ्जालहरूको सहयोगमा आयोजित यो क्लाइमेट सिनेमा अभियानले बालबालिकाका कथा र समाधानहरूलाई राष्ट्रिय र विश्वव्यापी जलवायु नीतिहरूमा समावेश गर्न आवश्यक रहेको सन्देश दिएको छ।