सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर पवन कुमार आचार्य नियुक्त

बैंक/वित्त

सानिमा बैंक लिमिटेडले श्री पवन कुमार आचार्यलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको घोषणा गरेको छ। यो निर्णय बैंकको सञ्चालक समितिले २०८२ कार्तिक २४ गते (नोभेम्बर १०, २०२५) मा बसेको बैठकबाट गरेको हो। उहाँको नियुक्ति २०८२ माघ १२ गते (जनवरी २६, २०२६) देखि लागू हुने बैंकले जनाएको छ ।

ललितपुरका स्थायी बासिन्दा श्री आचार्य सानिमा बैंकको स्थापनाकाल, अर्थात् २०६० सालदेखि नै बैंकमा कार्यरत हुनुहुन्छ। बैंकिङ क्षेत्रमा २१ वर्षको लामो अनुभव बटुल्नुभएका उहाँ सानिमाका एक अनुभवी व्यक्तित्व हुनुहुन्छ।  उहाँले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।

बैंकिङ र नेतृत्वमा वृहत् अनुभव

सानिमामा आफ्नो लामो सेवाकालका क्रममा श्री आचार्यले दशभन्दा बढी विभाग र शाखाको सफलतापूर्वक नेतृत्व गरिसक्नुभएको छ। उहाँको प्रमुख विशेषज्ञता बैंकिङका मुख्य क्षेत्रहरू जस्तै: कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा रहेको छ।

बैंकको कार्यकारी भूमिकाका अतिरिक्त उहाँ सहायक कम्पनी सानिमा क्यापिटलको सञ्चालक समितिमा अध्यक्षको रूपमा पनि कार्यरत हुनुहुन्छ। बैंकिङ अनुभव बाहेक, उहाँसँग चार वर्ष इन्जिनियरको रूपमा र पाँच वर्ष भिजिटिङ फ्याकल्टीको रूपमा काम गरेको अनुभव पनि छ।

एस.एल.सी. मा आदर्श विद्या मन्दिर हाई स्कूलबाट बोर्ड तेस्रो स्थान हासिल उनले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट एमबीए र एम.एन.आई.टी., जयपुरबाट इन्जिनियरिङमा स्नातक तहको डिग्री हासिल गरेका छन् ।

बैंकले आफ्ना नयाँ सीईओप्रति पूर्ण विश्वास व्यक्त गरेको छ। प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “बैंकलाई विश्वास छ कि उहाँको कार्यकालमा बैंक सफलताको नयाँ उचाइमा पुग्न सक्षम हुनेछ।”