सोलुखुम्बु — सगरमाथा आधार शिविरनजिकै आज बिहान एक हेलिकप्टर दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो।
हिमपातका कारण लबुचेमा फसेका पर्यटकको उद्धारका लागि गएको उक्त हेलिकप्टरमा चालक विवेक खड्का मात्रै सवार थिए। प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार पाइलट खड्का सकुशल रहेका छन्।
दुर्घटनाका बेला हेलिकप्टरमा पाइलटबाहेक अन्य कोही नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले पुष्टि गरेका छन्।

लुक्ला विमानस्थलका अधिकारीका अनुसार बिहान ८:१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएर क्षतिग्रस्त भएको हो। हेलिकप्टरमा आगलागी भने नभएको बताइएको छ।
